विजयपुर । सुनसरी बर्जु गाउँपालिका–६ बाट गैँडाको खागसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए । झापाबाट गैँडाको खाग लिएर आइरहेको भन्ने गोप्य सूचनाका आधारमा खागसहित बर्जु–६ ताल नजिकबाट चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाको साथबाट एउटा खाग, दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए । पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ । यसको सञ्जाल ठूलो भएको र अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको उनको भनाइ छ । रासस