विराटनगर । कोसी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संशोधन हाल्ने समय नदिई पारित गरेको भन्दै विपक्षी दलका सांसदहरूले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।


मंगलबार प्रदेशसभाबाट पारित भएको नीति तथा कार्यक्रममा विपक्षीलाई संशोधन प्रस्ताव दर्ता गर्ने समय नै उपलब्ध नगराई ‘मिलेमतो’मा पारित गरिएको उनीहरूको आरोप छ ।


बुधबारको बैठक सुरु हुनासाथ सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रममा कुनै पनि संशोधन नआएको जानकारी गराउँदै जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेतालाई विशेष समयमा बोल्न अनुमति दिएका थिए । तर, विपक्षी सांसदहरूले प्रक्रियाप्रति असहमति जनाउँदै विरोध सुरु गरे ।


सोही क्रममा पूर्वमुख्यमन्त्री एवं नेकपाका नेता राजेन्द्र राई रोस्ट्रमतर्फ उक्लिएर माइक समातेर बोल्न खोजेका थिए । उनले बोल्न खोज्दा मर्यादापालकले उनलाई घेरेर रोस्ट्रमबाट तल ओरालेका थिए । मर्यादापालक र सांसदबीच घम्साघम्सी भएपछि सदनको माहोल तनावपूर्ण बनेको थियो ।


विपक्षी दलका सांसदहरूले प्रदेशसभा सचिवालयले संशोधनका लागि कुनै सूचना वा जानकारी नै जारी नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । प्रक्रिया नै मिचेर नीति तथा कार्यक्रम पारित गरिनु लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको उनीहरूको तर्क छ ।


विपक्षीको निरन्तर नाराबाजी र अवरोधका कारण सदनको अन्य कारबाही अगाडि बढ्न सकेको छैन । कोसी सरकारको नीति तथा कार्यक्रम मंगलबारको बैठकबाट पारित भइसकेको छ ।