नेपालको अर्थतन्त्र र जनजीवनको मेरूदण्ड मानिने मनसुन यस वर्ष सरदर मिति (१३ जुन) नाघिसक्दा पनि भित्रिन सकेको छैन । जल तथा मौसम विज्ञान विभाग र मौसमविद्हरुका अनुसार नेपालमा मनसुनी प्रणाली पूर्णरुपमा सक्रिय हुन अझै केही दिन कुर्नुपर्ने देखिन्छ । गतवर्ष सरदर मितिभन्दा १५ दिनअगावै देशभर फैलिसकेको मनसुन यसपालि जेठको अन्तिम साता बितिसक्दा पनि पूर्वी ढोकामै अड्किनुले हाम्रो बदलिँदो मौसमी चक्र र यसले निम्त्याउने अनिश्चिततालाई प्रष्ट पारेको छ ।
अहिले मनसुन ढिलो हुनुको प्रमुख कारण माथिल्लो वायुमण्डलमा पश्चिमी वायुको प्रभाव कायमै रहनु हो । तल्लो वायुमण्डलमा पूर्वी हावा चल्न थालेजस्तो देखिए पनि माथिल्लो वायुमण्डलमा पश्चिमी वायु बलियो भइदिँदा बङ्गालको खाडीबाट आउने मनसुनी प्रणाली नेपाल भित्रिन पाएको छैन । विशेषज्ञहरुका अनुसार आगामी शनिबारसम्ममा यो पश्चिमी वायु कमजोर भई मनसुन नेपालतर्फ सर्न सक्ने आँकलन छ । यसका साथै प्रशान्त महासागरमा विकसित भइरहेको ‘एल निनो’ (समुद्री सतहको तापक्रम सरदरभन्दा बढी हुने प्रक्रिया) को विश्वव्यापी प्रभावले पनि दक्षिण एसिया र नेपालको मनसुनी प्रणालीलाई कमजोर बनाउन सक्ने संशय पैदा गरेको छ । इतिहास साक्षी छ–सन् २०१६, २०१७ र २०२३ जस्ता एल निनो सक्रिय भएका वर्षहरुमा नेपालमा मनसुन ढिलो मात्र भित्रिएको थिएन, बरू वर्षाको मात्रामा पनि गिरावट आएको थियो ।
मनसुन ढिलो भित्रिँदा यसको सिधा असर मुलुकको कृषि क्षेत्रमा पर्ने निश्चित छ । नेपालको कुल खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै पनि आकाशे पानीमै निर्भर छ । धान रोपाइँको मुख्य सिजनमा पानी नपर्दा कृषकहरु मारमा पर्नेछन्, जसले अन्ततः राष्ट्रिय उत्पादन र खाद्य सुरक्षामा समेत धक्का पु¥याउन सक्छ । मौसमविद्हरुको अर्को डरलाग्दो आँकलन के छ भने आगामी साताभित्र मनसुन भित्रिए पनि यो देशभर फैलिन समय लाग्नेछ । पश्चिम नेपाल (कर्णाली र सुदूरपश्चिम) सम्म मनसुन पुग्न असारको मध्यसम्म लाग्न सक्छ र त्यहाँ पूरै मनसुन अवधिभर सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ । अझ साउनको १५ गतेपछि त देशभर नै औसतभन्दा कम वर्षा हुने प्रक्षेपणले आगामी दिनहरु सुख्खा र चुनौतीपूर्ण हुन सक्ने सङ्केत गर्दछ ।
यस्तो अवस्थामा जल तथा मौसम विज्ञान विभागले मनसुन आगमनको ठोस र औपचारिक पूर्वानुमान मात्र गरेर पुग्दैन, सरकार र सम्बन्धित निकायहरुले पनि बेलैमा पूर्वतयारी थाल्नुपर्छ । पानीको हाहाकार हुन नदिन सिँचाइका वैकल्पिक उपायहरुको खोजी, सुख्खायाममा हुनसक्ने वन डढेलोको नियन्त्रण र कृषि क्षेत्रमा पर्न सक्ने क्षति न्यूनीकरणका लागि किसानहरुलाई बेलैमा सचेत गराउनु आवश्यक छ । मौसमको यो अनिश्चितता प्रकृतिमाथि मानव सिर्जित हस्तक्षेप र जलवायु परिवर्तनको एउटा सानो झल्को पनि हुनसक्छ । तसर्थ बदलिँदो मौसमको यो चुनौतीलाई सामना गर्न दीर्घकालीन रणनीति र तत्कालका लागि ठोस कार्ययोजना निर्माणमा राज्य गम्भीर बन्नै पर्छ ।