धरानको इतिहास केवल भवन, सडक र बजारमा छैन । यो सहरको इतिहास यहाँका कुवा, धारा, मठमन्दिर र पानीका मुहानसँग पनि जोडिएको छ । बस्ती बस्नुको आधार नै पानीका स्रोत थिए । तर सहर विस्तारसँगै विकासको नाममा यस्ता ऐतिहासिक स्रोतहरु हराउँदै गएका छन् । बाँकी रहेका स्रोत पनि संरक्षणको अभावमा अस्तित्व सङ्कटमा छन् । धरान–२ रत्नरोड आसपासको गौरीकुवा यसको एउटा उदाहरण हो । कुनै समय कुवाका रुपमा रहेको यो पानीको स्रोत अहिले ढुङ्गेधारामा परिणत भएको छ । दशकौ“देखि स्थानीयको नुहाउने, कपडा धुनेदेखि खानेपानीको स्रोत बनेको यो धारा आज पनि प्रयोगमा छ । ज्येष्ठ नागरिकका सम्झनामा मात्रै होइन, नयाँ पुस्ताको दैनिक जीवनमा समेत यसको उपयोग भइरहेको छ । यसको अर्थ गौरीकुवा इतिहासको अवशेष मात्रै होइन, जीवित सम्पदा पनि हो । गौरीकुवाको इतिहास अझ पुरानो रहेको स्थानीयको भनाइ छ । राणा शासनअघिदेखि नै पानीको स्रोतका रुपमा रहेको र बस्ती विस्तारमा यस्ता मुहानको महत्वपूर्ण भूमिका रहेको स्थानीयको अनुभव छ । धरानको पुरानो बस्ती पानीका स्रोत आसपास विकसित भएको इतिहासलाई पनि यसले पुष्टि गर्छ । हात्तीसार, हनुमान मन्दिर आसपास, तीनधारे, चारधारे, गुरूङधारा, गौधारालगायतका नामले नै धरानको पुरानो जलसंस्कृतिको झल्को दिन्छन् । तर आज तीमध्ये कतिपय धारा हराइसकेका छन् ।
पुराना धरोहरका कुरा गर्दा एउटा प्रश्न आउ“छ, सहर आधुनिक बनाउने नाममा हामीले सहरको इतिहास नै मेटिरहेका त छैनौ“ ? सडक विस्तार गर्दा, भवन बनाउँदा वा नयाँ संरचना थप्दा पुराना धारा र कुवा हटाउनु सहज हुनसक्छ । तर एउटा धारा हटाउनु भनेको केवल पानीको एउटा मुहान हटाउनु होइन, त्यससँग जोडिएको सामाजिक स्मृति, स्थानीय इतिहास, परम्परा र पुस्तौ“को जीवनशैली पनि मेटिनु हो । विकासले मानिसलाई सुविधा दिनुपर्छ, विगतलाई विस्थापित गर्नु हुँदैन भन्ने मान्यताको हामीले विकास पनि गर्नु जरूरी भइसकेको छ । गौरीकुवालाई हालै व्यवस्थित बनाइएको सकारात्मक पक्ष हो । खानेपानी ट्याङ्की र ढङ्गेधारा निर्माण हुनु, पानीको अनावश्यक खेर जाने अवस्था रोक्ने व्यवस्था गरिनु स्वागतयोग्य छ । तर एउटा संरचना निर्माण गरेर मात्रै संरक्षण पूरा हुँदैन । यसको ऐतिहासिक पक्षको अभिलेखीकरण, नियमित मर्मतसम्भार, सरसफाइ र वरपरको वातावरण संरक्षण पनि उत्तिकै आवश्यक छ । स्थानीयले त्यतातिर पनि ध्यान पु¥याउनु पर्दछ । धरान उपमहानगरपालिकाले अब यस्ता सबै पुराना कुवा, धारा, मठमन्दिर र पानीका मुहानको खोजी गर्नुपर्दछ । कुन स्रोत कहिलेदेखि प्रयोगमा थियो, त्यसको इतिहास के हो, अहिलेको अवस्था कस्तो छ र त्यसलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा विस्तृत अध्ययन हुनुपर्दछ । स्थानीय ज्येष्ठ नागरिकको स्मृति, पुराना दस्तावेज र स्थलगत अध्ययनलाई आधार बनाएर ‘धरानका ऐतिहासिक जलस्रोत’ को अभिलेख तयार गर्न सकिन्छ ।
यस्ता स्रोतलाई केवल खानेपानीको वैकल्पिक मुहानका रुपमा होइन, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाका रुपमा वर्गीकरण गर्न आवश्यक छ । संरक्षण गर्न सकिने स्रोतलाई पुनर्निर्माण गर्ने, हराइसकेका स्रोतको स्थान पहिचान गरी स्मारक वा सूचना पार्टी राख्ने र प्रयोगमा रहेका धारालाई व्यवस्थित गर्ने नीति बनाउनु बाञ्छनीय हुनेछ । विद्यालय र स्थानीय समुदायलाई समेत यसको संरक्षणमा जोड्न सकिन्छ । पुर्खाको चिनो र धरोहर भावी पुस्तालाई चिनाउनु पर्दछ । धरानले आफ्नो इतिहास जोगाउन चाहन्छ भने पुराना धारा र कुवातर्फ फर्केर हेर्नु पर्दछ । आज पनि पानीको पर्याप्तता छैन झन् भोलि जलसङ्कट अझ गम्भीर बन्न सक्छ । त्यसैले पुराना पानीका स्रोत संरक्षण गर्नु इतिहास बचाउनु मात्र होइन, भविष्यका लागि पानीको सम्भावना जोगाउनु पनि हो । गौरीकुवा जोगिएको छ भने त्यसलाई संयोगमा छोड्नु हुँदैन । यो धरानका हराउँदै गएका धारा–कुवाको संरक्षण अभियानको सुरूआत बन्नुपर्दछ । स्थानीय तहले अब संरक्षणको घोषणा मात्र होइन, ठोस काम गर्नुपर्दछ । हराइसकेका धाराको खोजी, बाँकी रहेका स्रोतको संरक्षण, अतिक्रमण रोकथाम र नियमित बजेटको व्यवस्था गर्नुपर्दछ । नागरिकले पनि यस्ता स्रोतलाई सार्वजनिक सम्पत्ति मानेर संरक्षणमा साथ दिनुपर्दछ । सहरमा नयाँ संरचना थप्दै जानु विकास हो, तर पुराना संरचना जोगाएर नयाँ पुस्तालाई आफ्नो इतिहास हस्तान्तरण गर्नु सभ्य विकास पनि हो । स्थानीय सरकारलाई यस विषयमा हेक्का हुनु जरूरी छ ।