धरान । भारतको बिहार सरकारले कोशी नदीको पानी मेची नदीमा पु¥याउने महत्वाकाङ्क्षी नदी जोड परियोजनाको काम अघि बढाएको छ । कोशी–मेची इन्ट्रा–स्टेट लिङ्क परियोजनाअन्तर्गत पूर्वी कोशी मुख्य नहरलाई विस्तार गरी मेची नदीसँग जोड्ने काम भइरहेको छ ।
भारतबाट प्रकाशित हिन्दुस्थान टाइम्सका अनुसार परियोजनाअन्तर्गत कोशीको पूर्वी मुख्य नहरलाई पुनर्संरचना गरी यसको क्षमता बढाइनेछ । हाल ४१.३० किलोमिटरमा रहेको नहरलाई थप ७६ किलोमिटर विस्तार गरी मेची नदीको ११७.५० किलोमिटर बिन्दुसम्म पु¥याउने योजना छ । यसबाट कोशी र मेची नदी बिहारभित्रै जोडिने समाचारमा उल्लेख गरिएको छ ।
करिब ६ हजार २ सय ८२ करोड भारतीय रुपैयाँ लागतको परियोजना सन् २०२९ मार्चसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजना पूरा भएपछि बिहारका पूर्णिया, अररिया, किशनगञ्ज र कटिहारसहित सीमाञ्चल क्षेत्रका करिब २.१५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार हुने भारतीय अधिकारीहरूको दाबी छ ।
परियोजनाबाट कोशीको करिब २५ करोड घनमिटर अतिरिक्त पानी मेची हुँदै महानन्दा जलाधारतर्फ लैजाने योजना छ । बिहार सरकारले यसलाई एकातर्फ सिँचाइ विस्तार र अर्कोतर्फ कोशी तथा सीमाञ्चल क्षेत्रमा हुने बाढीको प्रभाव घटाउने उपायका रूपमा अघि बढाएको छ ।
हिन्दुस्थान टाइम्सले नोभेम्बर २०२५ मा प्रकाशित अर्को समाचारमा परियोजनाको पहिलो चरणमा कोशीको पूर्वी मुख्य नहरको ४१ किलोमिटर खण्डलाई सुदृढ गरी पानी बोक्ने क्षमता १५ हजारबाट २० हजार क्युसेक पुर्याउने उल्लेख गरेको थियो । त्यसपछि नहरलाई मेचीसम्म विस्तार गरिनेछ । पहिलो चरणको लागत मात्रै करिब २ हजार ६८२.७३ करोड रुपैयाँ रहेको छ ।
भारतको केन्द्र सरकारले मार्च २०२५ मा परियोजनालाई प्रधानमन्त्री कृषि सिँचाइ योजना–एआईबीपीअन्तर्गत स्वीकृत गरेको थियो । कुल लागतमध्ये ३ हजार ६५२.५६ करोड रुपैयाँ केन्द्र सरकारले बेहोर्ने व्यवस्था छ ।
नेपालको चासो कहाँ ?
परियोजना बिहारभित्रै निर्माण भइरहे पनि कोशी र मेची दुवै नेपालसँग जोडिएका नदी भएकाले यसको प्रभावबारे नेपालमा अध्ययन र चासो आवश्यक भएको जानकारहरू बताउँछन् । विशेषतः मनसुनमा कोशीको अतिरिक्त पानीको व्यवस्थापन, मेचीको बहाव, सीमावर्ती बाढी तथा नदीको प्राकृतिक प्रणालीमा पर्ने प्रभावबारे नेपालले चासो राख्नुपर्ने कोशी जलाधारबारे जानकार गोपाल कोइराला बताउँछन् ।
कोशी नदीमा भारतले संरचना निर्माण र पानी व्यवस्थापन गर्दै आएको विषय भने नयाँ होइन । नेपाल र भारतबीच १९५४ मा कोशी सम्झौता भएको थियो, जसअन्तर्गत कोशी ब्यारेज तथा तटबन्धलगायत संरचना निर्माण गरिएको हो । १९९ वर्षको सम्झौता गरेर परियोजना चलाइरहेको छ ।
यद्यपि अहिले अघि बढिरहेको परियोजनालाई नेपालबाट कोशीको पानी भारतले तानेर मेचीमा लैजान लागेको परियोजना भनेर बुझ्नु गलत हुन्छ । यसको वर्तमान स्वरूप बिहार राज्यभित्रको नदी जोड्ने परियोजना भएको भारतीय अधिकारीहरूले बताएका छन् । भारतको आधिकारिक दस्तावेजले पनि पूर्वी कोशी मुख्य नहरलाई मेचीसम्म विस्तार गर्ने परियोजनाका रूपमा यसलाई परिभाषित गरेको छ । तर विगतमा भने कोशी–मेची नदी जोड्ने ठूलो अवधारणा नेपालसँग समेत जोडिएको थियो ।
पूर्वी नेपालमा के असर पर्न सक्छ ?
यसको वास्तविक प्रभावबारे निष्कर्ष निकाल्न नेपाल–भारत दुवैतर्फको विस्तृत जलप्रवाह, बाढी, भूगोल र वातावरणीय अध्ययन आवश्यक भएको जलस्रोतविज्ञ गोपाल कोइराला बताउँछन् । विशेषतः मेची नदी नेपाल–भारत सीमासँग सम्बन्धित नदी भएकाले त्यसको बहावमा गरिने ठूलो पूर्वाधार परिवर्तनको प्रभाव सीमापार हुनसक्ने विषयलाई बेवास्ता गर्न मिल्दैन ।
मेची जलाधार नेपाल र भारत दुवैतर्फ फैलिएको छ । सीमावर्ती क्षेत्रमा मेचीको तटबन्ध र बाढी व्यवस्थापनका विषयमा नेपाल–भारतबीच प्राविधिक तहमा समन्वय हुँदै आएको अभिलेखसमेत छ ।
यसबारे नेपाल सरकारका जलस्रोत तथा सिँचाइ निकायले अहिलेसम्म गरेको अध्ययन, भारतसँग भएको समन्वय र नेपाली विज्ञहरूको धारणा सार्वजनिक हुनु पर्ने विज्ञहरूको भनाइरहेको छ ।