barahaहाम्रो पूर्वीय धार्मिक ग्रन्थमा शुक्ल पक्ष र कृष्ण पक्ष गरी महिनामा दुईवटा एकादशीको उल्लेख पाइन्छ । प्रत्येक तीन वर्षमा पर्ने पुरुषोत्तम मासमा अरु दुईवटा एकादशी थपिने भएकाले त्यस वर्ष छब्बीस एकादशी पर्न जान्छ । शास्त्रहरुमा सबै एकादशीको समान महत्व उल्लेख गरिए पनि आषाढ शुक्लमा पर्ने हरिशयनी एकादशी र कात्तिक मासमा पर्ने हरिबोधनी एकादशीको विशेष महत्व बताइएको छ । शास्त्रीय मान्यताअनुसार आषाढ मासमा पर्ने हरिशयनी एकादशीको दिन भगवान् नारायण शयन गर्ने र कात्तिक मासको एकादशीको दिन जागा हुने उल्लेख गरिन्छ । त्यसैले सामान्य बोलचालमा यी दुई एकादशीलाई ठूलो एकादशी ठानिन्छ । नेपाली समाज र एकादशी ः नेपाली समाज विविध जातजाति मिलेर बनेको समाज हो । यहाँ सबैका आ–आप्mनै संस्कृतिहरु मानिँदै आए पनि हामीले मान्ने व्रत र पर्वहरु सबै वर्ग र समुदायले समान महत्वका साथ मान्ने र मनाउने चलन छ । यसको उदाहरणको रुपमा यी दुई एकादशी माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति आदिलाई लिन सकिन्छ । यी पर्वहरु पहाडमा रहने जातजातिहरुमा मात्रै नभएर तराईमा रहने जातजातिहरुमा पनि समान रुपले मनाउने चलन छ । एकादशीको महत्व ः एकादशीमा विशेष गरी भगवान् नारायणको पूजा गर्ने र हरिशयनी एकादशीमा आप्mनो घरमा लगाइएको तुलसीको विशेष पूजा हरिबोधनी एकादशीको दिन गर्ने र घरमा रहेको तुलसीको गमला (मोठ) शृङ्गार गर्ने, तुलसीको विवाह गर्ने, त्यस दिन तरुल, भ्याकुर आदि कन्दमूल र मकै आदि अन्नलाई प्रसादको रुपमा तयार गरी फलाहार गर्ने चलन छ । हरिबोधनी एकादशी र वराहक्षेत्र मेला ः हरिशयनी एकादशीका दिन शयन गर्ने नारायण हरिबोधनी एकादशीका दिन जागा हुने र त्यस दिन भगवान् वराहक्षेत्रमा आउनुहुने, कोकाहा कौशिकी सङ्गममा स्थान गरी गरुडमा बसेर वराहमा आउनुहुने र एकादशीदेखि पूर्णिमासम्म यस मन्दिरमा मूर्तिका रुपमा प्रतिष्ठित हुनुहुने विश्वास रहेकाले यस दिनको पूजाको वराहक्षेत्रमा विशेष महत्व छ । यसै विश्वासका साथ यस दिनदेखि पूर्णिमासम्म पवित पावनी पापहरणी कौशिकी र कोकाहा सङ्गममा स्नान गरी भगवान्को दर्शन गर्ने अनादि कालदेखि टाढाटाढाका भक्तजनहरु आउने गर्दछन् ।यो मेला कुन समयदेखि शुरु भयो भनेर भन्न नसकिए पनि किरातकालीन इतिहासको आधारमा किराती राजाहरुले यस क्षेत्रमा यस पर्वको दिन स्नान गर्न जाने तीर्थालुहरुले कुनै दुःख–कष्ट व्यहोर्नु नपरोस् भनी आप्mना सैनिकहरुलाई व्यवस्था गरी पठाएको र मेलालाई सुव्यवस्थित गर्दै लगेको बूढापाकाहरु किंवदन्तीका रुपमा वर्णन गर्दछन् । त्यसैलाई आधार मान्दा पनि यो मेलाको शुभारम्भ निकै पहिले नै भएको मान्न सकिन्छ । पुराणअनुसार कोकाहा कौशिकी सङ्गम स्नान र वराह भगवान्को दर्शन यी दुवै जीवात्मालाई सहजै मुक्ति दिलाउने साधन हुन् । सङ्गमको जल वराह भगवान्लाई चढाउने भक्तहरुले कहिल्यै नरक हेर्नु पर्दैन भनेर वराह पुराणमा उल्लेख पाइन्छ । स्कन्द पुराणअनुसार कोकाहा मुख (कोकाहा–कौशिकी सङ्गम) क्षेत्र वराहक्षेत्रमा आएर दर्शन गर्दै कोकाहाको जल पितृहरुलाई अर्पण गर्नाले जस्तोसुकै अगतिमा परेका पितृहरुको उद्धार निश्चित हुनेछ भनेर स्कन्ध पुराणले ठोकुवा गरेको छ । पुराणका ग्रन्थहरुमा मात्रै होइन, इतिहासका ग्रन्थहरुमा पनि विभिन्न विद्वान्ले यस क्षेत्रका बारेमा मुक्तकण्ठले उल्लेख गरेका छन् । यी सबै कुराले पनि वराहक्षेत्रको उच्च महत्व प्रदर्शित हुन्छ । हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा एकादशीदेखि द्वादशी स्नान तथा दर्शन गरिन्छ । त्रयोदशीका दिन औलिया बाबाको मठ चतराबाट निशान झण्डाको आगमन वराहक्षेत्रमा गराइन्छ । राणाकालसम्म निशान झण्डा ल्याउँदा सैनिकहरुको परेडसहित बाजागाजाका साथ साधुसन्यासी सन्तहरुले ठूलो उत्सव गर्दै निशान झण्डालाई वराहक्षेत्र ल्याउँथे तर आजकाल ती सबै मन्दिरले गर्ने औपचारिकतामा मात्रै सीमित हुन पुगेको छ, जो सारै चिन्ताको विषय हो । त्रयोदशीका दिन ल्याइएको झण्डा प्रतिपदाको दिन पुनः चतरा मठमा नै फर्काइन्छ । मेलामा चतुर्दशीका दिन बिहानैदेखि विशेष गरेर छिमेकी राष्ट्र भारतका भक्तहरुको आगमन हुन्छ । पूर्णिमाको दिन नेपाल तथा भारतीय तीर्थयात्रुको भीडले पूरै वराहक्षेत्र गुञ्जायमान हुन्छ । मेलालाई सुव्यवस्थित गर्न बृहत्तर वराहक्षेत्र विकास समितिको पहलमा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुको उपस्थितिमा मेला व्यवस्थापन समिति गठन भएको छ । यस वर्षदेखि नयाँ अनुभव बटुल्दै आगामी दिनमा मेलालाई भव्य र सभ्य पार्न वराहक्षेत्र मन्दिर क्षेत्रको मेला व्यवस्था गर्ने जिम्मा सर्वसहमतिबाट वराहक्षेत्र संरक्षण मञ्चले लिएको छ । मञ्चका लागि यो अति ठूलो जिम्मेवारी पनि हो । यसमा समग्र मञ्चकै सफलता, असफलता जोडिन्छ । मेला शुरु भएको छ, भक्तहरुको उल्लेख्य भीड वराहक्षेत्र आउन थालिसकेको छ । वराहक्षेत्र मेलामय बनिसकेको छ । बाटाघाटादेखि अन्य क्षेत्रमा पनि मेलाका लागि जति काम हुनुपर्ने हो, हुन सकेको छैन तर पनि यी सबैलाई पर सार्दै हामी पनि एकचोटि वराहक्षेत्र पुग्ने कि ? (लेखक वराहक्षेत्र मन्दिरका मुख्य पुजारी हुन् ।)