धरान/चर्चित भारतीय योग गुरु बाबा रामदेव तथा नेपाली मूलका आचार्य बालकृष्णको कम्पनी पतंजलि आयुर्वेदले उत्पादन गर्ने केही औषधीहरु नेपालमा बिक्री वितरण गर्न रोक लगाइएको छ ।
पतंजलिलले उत्पादन गर्दै आइरहेको विलादी चूर्ण, अभिपत्तिकर चूर्ण, अजमोदादी चूर्ण र सितोफलादी चूर्णलाई नेपालमा बिक्री गर्न रोक लगाइएको हो ।
नमूना परीक्षणका क्रममा न्यून गुणस्तरीय तथा गुणस्तरहीन भएको पाइपछि बिक्री वितरणमा रोक लगाइएको हो । औषधी व्यवस्था विभागले हालै पतंजलिबाट उत्पादन हुने आयुर्वेदिक औषधीको नमूना परीक्षण गरेको थियो ।
नेपालमा बिक्री वितरणमा रोक लगाइएको पतंजलिका औषधिहरु यसअघि भारतमा परीक्षण गर्दा पनि न्यून गुणस्तरको पाइएको जनाइएको थियो ।
औषधी व्यवस्था विभागले एक सूचना जारी गर्दै पतंजलिका ती औषधीहरु बजारबाट तत्काल फिर्ता लिन पनि भनेको छ ।
‘पतंजलि आयुर्वेदिक केन्द्रद्वारा उत्पादित औषधि न्यून गुणस्तर भएको पाइएपछि औषधि ऐन–२०३५ को दफा १४ बमोजिम विक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न तथा सोको विवरण विभागमा पेश गर्न सम्बन्धित आयातकर्ता तथा तिनका अधिकारिक प्रतिनिधिहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ औषधी व्यवस्था विभागले जारी गरेको सूचनामा भनिएको छ