धरान/जिल्ला वन कार्यालय सुनसरीका वन अधिकृतले आर्थिक मिलेमतोमा हाँसपोसा सामुदायिक वन उपभोक्ता समितिलाई काँचो रुख काट्न सहमति दिएको आरोप लागेको छ । [caption id="attachment_67608" align="alignnone" width="1536"] तस्बिरः ब्लाष्ट[/caption] वार्षिक स्वीकार्य कटान अन्तर्गत वन अधिकृत राजेन्द्र निरौलाले आर्थिक मिलेमतोमा काँचो सखुवाको रुख काट्न अनुमति दिएको स्थानीयको आरोप छ । नाम नछाप्ने शर्तमा एक स्थानीयले ५० हजार रुपैया आर्थिक लेनदेन गरेर काँचो रुख काट्न जिल्ला वनले नै स्वीकृत गरेको बताए । तर, जिल्ला वनका कार्यालयका वन अधिकृत निरौलले स्रोत सर्वेक्षण गरिसकेपछि वार्षिक स्वीकार्य कटान भित्र रहेर उक्त रुख काट्न अनुमति दिएको बताए । उनले ५० हजार रुपैया लेनदेन गरेको विषयमा प्रष्ट पार्दै भने, ‘५० हजार के हो भने हाम्रो गाडी मर्मत गर्नका लागि हामी कहाँ पैसा पुगेन, मर्मतको लागि सहयोग गर्नुस् भनेर ५० हजार रुपैया बिलकै पछाडी लेखेर दिएको हुँ । मिटिङमा राखेर छलफल गर्नुस् । तपाईहरुको कुरो मिलो भने सिधै वर्कसपमा बुझाइदिनुहोला भनेर भनेको छु ।’ त्यो आफैले ५० हजार रुपैया लेखेर दिएकाले खुल्ला किताव जस्तै रहेको बताउँदै रुख काट्नको लागि पनि आफूले अनुमति दिएको स्वीकारे । उनका अनुसार वार्षिक स्वीकार्य कटान अन्तर्गत पहिलो प्राथमिकतामा ढलापढा, सुकेका खडा, सुकेका खडा छैनन भने सुक्न लागेका र हरियो पनि अति पुराना छिप्पेका रुखहरु काट्न सक्ने प्रावधान छ । इलाका वन कार्यालय तरहराले भने उक्त रुखको विषयमा २५ प्रतिशत हरियो नै रहेको भन्दै कैफियतमा उल्लेख गरेको पठाएको बताएको छ । इलाका वनका सहायक वन अधिकृत अवधेश गच्छदारले कैफियतमै आफूले ७५ प्रतिशत सुकेको र २५ प्रतिशत हरियो उल्लेख गरेको पठाएको बताए । ‘कैफियतमा अर्ध सुकेको भनेर लेखेर पठाएका छौं ।’ उनले फोन सम्पर्कमा भने । स्थानीयका अनुसार उक्त रुख काट्नको लागि गतवर्ष पनि तयारी गरिएको थियो । तर, हरियो भएका कारण काट्न सकिएन । उक्त रुख सुकाउनको लागि रुखको बोक्रा बारम्बार छिलिएको छ । सामुदायिक वनका अध्यक्ष कर्ण राउतलाई मोबाइलमा फोन सम्पर्क गर्न खोजे पनि फोन स्वीच अफ रहेको पाइयो । यता सहसचिव शान्तिराम घिमिरेलाई फोन गर्दा उक्त रुख काट्न स्वीकृत आए÷नआएको आफूलाई थाहा नभएको बताए । उनले वनले पैसा ख्वाई ख्वाई कसैले पनि काठ नकाट्ने बताए । ‘आफूलाई कारबाही परिन्छ भने उपभोक्तालाई काठ बाड्ने कुरा आउँदैन ।’ उनले भने, ‘हजार रुपैयासम्म अध्यक्षले दिन पाउँछ । त्यो भन्दा माथि मिटिङमा पास नगरी दिन पाउँदैन ।’ कटानको लागि हाँसपोसाले १८ वटा रुखको अनुमति पाएको छ । करिव २२ सय क्युविक फिट काठ काट्ने अनुमति पाएको हो ।