अब चाँडै विवाह गर्छु

अब चाँडै विवाह गर्ने सोच बनाएको छु । मुख्यमन्त्रीको जिम्मेवारी पाएको छु, अहिले जिम्मेवारीमा केन्द्रित छु । प्रदेशको विकास र समृद्धिलाई कसरी अगाडि बढाउने भनेर सबैसँग बसेर काम गरिरहेको छु । मुख्यमन्त्रीको रूपमा रहेर प्रदेशलाई समृद्धितर्फ उन्मुख गराएपछि जीवनको पाटोलाई पूरा गर्छु । ७० वर्षको हाराहारीमा रहनुभएका आमाबुवाको चाहना पनि पूरा गर्नु छ । एक्लो छोरा भएकाले छिट्टै विवाह गरोस् भन्ने आमाबुवाको चाहना र रहरलाई पूरा गर्नु मेरो जिम्मेवारी हो । यो जिम्मेवारीलाई १ वर्षभित्र पूरा गर्ने विचारमा छु ।

जीवनसाथी खोजिसकेको छैन म आफैँले मुख्यमन्त्री भएपछि विवाह गर्छु भनेको थिएँ । मेरो योजना पनि यही हो । तर, मुख्यमन्त्री भएपछिका जिम्मेवारी व्यवस्थित गर्नु पनि जरुरी छ । त्यसलाई व्यवस्थापन गरेर विवाह गर्ने हो । र, विवाहका लागि जीवनसाथी पनि खोजिसकेको छैन । अब खोज्नेभन्दा पनि सल्लाह गर्ने भन्न रुचाउँछु । विवाह गर्न एकले अर्काको अस्तित्व स्वीकार गर्न जरुरी हुन्छ । त्यस्तो साथी भेटिएपछि विवाह गर्ने हो । कोमार्फत जीवनसाथी खोज्ने भन्ने पनि छैन । आफन्त अथवा साथीभाइको सहयोग त अवश्य पनि चाहिन्छ नै । जरुरी पनि छ । उहाँहरूको साथ सल्लाह र सहयोगमा भेटिएकीसँग एक–अर्काको समर्थनमा नै विवाह हुन्छ ।

मेरो जीवनसाथीमा हुनुपर्ने गुण

राजनीति बुझेको  आज म जे छु त्यो सबै राजनीतिले गर्दा छु । त्यसैले मैले बिहे गर्ने महिलाले राजनीति बुझेको हुनुपर्छ । मेरो पेसाप्रति जानकार भएको हुनुपर्छ । मेरो जीवन राजनीतिप्रति समर्पित भएको हुँदा मेरो क्षेत्रलाई सम्मान गर्ने हुनुपर्छ । अहिलेको राजनीतिक गतिशीलता, सामाजिक विविधतालाई बुझेको हुनुपर्छ । आफू बसेको समाज बुझेर त्यहीअनुसार आफूलाई परिवर्तन गर्न सक्ने हुनुपर्छ ।

गल्ती सुधार्ने तत्परता भएको विवाह भनेको सम्झौता पनि हो, त्यसैले एकदम व्यावहारिक हुनुपर्छ । जीवनलाई अगाडि बढाउन एक–अर्काको चाहना बुझ्ने र सम्झौता गर्न सक्ने हुनुपर्छ । मेरो बुझाइमा दाम्पत्य जीवन सफल बनाउन एक–अर्कामा इमानदार र समर्पित हुनुपर्छ । जीवनलाई सहज बनाउने खुबी भएको हुनुपर्छ । सबैबाट गल्ती हुन्छ, गल्ती गरिसकेपछि त्यसलाई स्वीकार गर्ने र सुधार गर्ने तत्परता हुनुपर्छ । मेरो भावना बुझ्ने र सम्मान गर्ने हुनुपर्छ ।

फरक विचारको पनि चल्छ  म कम्युनिस्ट विचार भएको भनेर सर्वविदितै छ । तर, कम्युनिस्ट भएपछि मैले विवाह गर्ने महिला मेरै विचारधारा भएको हुनुपर्छ भन्ने छैन । जुनसुकै विचार भएको हुन सक्छ । तर, त्यो फरक विचार जीवन चलाउने शैली र घरायसी व्यावहारिकतामा फरक हुन भएन । भए पनि सम्झौता गर्न सक्ने हुनुपर्छ । कहिले मबाट सम्झौता होला त कहिले उनीबाट । म आफ्नो विचार र सिद्धान्तशैलीले समाज र जोकोही व्यक्तिलाई सकारात्मक प्रभाव पार्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ । त्यसैले मैले रोज्ने महिला फरक राजनीतिक विचारधारा भएको पनि हुन सक्छ ।

केटी त जात मिल्ने नै चाहिन्छ म आफू कम्युनिस्ट विचारधारा भएको व्यक्ति हुँ । त्यसैले गर्दा पनि जात, धर्मलाई आधार बनाएर विवाह गर्ने सोच पटक्कै छैन । तर, म आमाबुवाको एक्लो छोरा भएकाले अन्तर्जातीय विवाह उहाँहरूलाई स्विकार्य छैन । उहाँहरूको चाहना मैले विवाह गर्नु मात्र होइन, आफ्नै जातको बुहारी भित्रयाउने पनि हो । अब मैले अन्य जातको विवाह गरेर उहाँहरूलाई कन्भिन्स गर्ने समय छैन । त्यसप्रति पनि म सचेत हुनुपर्छ । म राई हुँ । हाम्रो किराती संस्कारमा अन्तर्जातीय विवाह गर्दा कुलमा गइँदैन । हाम्रो राईहरूको तीन चुला हुन्छ (जसलाई थरअनुसार नाम दिइन्छ) । बुहारी भित्रयाउँदा तीन चुलामा लगाइन्छ । त्यसपछि मात्र घरको सदस्यका रूपमा मान्यता दिइन्छ । त्यसैले मैले आमाबुवाका लागि जातभित्रकी बुहारी भित्रयाउनुपर्ने बाध्यता छ । उहाँहरूको चुलामा पस्ने बुहारी ल्यायोस् भन्ने भित्री चाहना छ । उहाँहरूको इच्छा, चाहना पूरा गर्ने मेरो कर्तव्य ठानेर चुलामा भित्रयाउन मिल्ने नै विवाह गर्छु । राई र लिम्बूमध्येमा जुन पनि थर भएको हुन सक्छ ।

कम पढेको भए पनि स्मार्ट होस् मैले विवाह गर्ने महिला यति नै र यही विषय पढेको हुनुपर्छ भन्ने छैन । जुनसुकै विषय वा सामान्य पढेको पनि हुन सक्छ । सामान्य पढेको भए पनि समय र परिस्थितिलाई बुझेर सम्हाल्न र चल्न सक्ने हुनुपर्छ । पढाइ महत्वपूर्ण हो, तर धेरै पढेका मात्रै क्षमतावान् र स्मार्ट हुन्छन् भन्ने मलाई लाग्दैन । आदर, सम्मान, माया गर्न जान्ने हुनुपर्छ ।

आधुनिक समाज बुझेको र परम्पराको ख्याल गर्ने हुनुपर्छ समय एकदमै गतिशील छ भन्ने चेत भएको हुनुपर्छ । आधुनिक समाज बुझेको हुनुपर्छ । परम्परागत कुराको ख्याल गर्ने पनि हुनुपर्छ । स्थान र परिस्थितिलाई ध्यान दिएर आफूलाई प्रस्तुुत गर्न सक्नुपर्छ ।

पहिरनमा समाजको ख्याल गरोस् पहिरनप्रति मेरो त्यस्तो केही बाध्यता हुन्न । आजभोलि जोकोही फेसन कन्सस भएका हुन्छन् । कस्तो ठाउँमा, कस्तो पहिरन लगाउने भन्ने चेत भएका हुन्छन् । सर्ट, पाइन्ट वा साडी नै लगाउनुपर्छ भन्दिनँ । आफूलाई सहज हुने पहिरन लगाउँदा मलाई फरक पर्दैन । पहिरन लगाउँदा समाजलाई ख्याल गर्ने हुनुपर्छ ।

कालो–गारो जस्तो भए पनि व्यवहार राम्रो मलाई मान्छेको शारीरिक बनावटले फरक पार्दैन । व्यवहार राम्रो हुनुपर्छ । शारीरिक बनावटले मान्छेको व्यक्तित्व जज गर्न मिल्दैन । म त्यो गर्दिनँ पनि । मोटो वा दुब्लो जस्तो पनि हुन सक्छ । अथवा कालो, गोरोजस्ता कुरा पनि गौण विषय हुन् । मुख्य त व्यवहार नै हो ।

हाइट जोडी मिल्ने होस्  सबै मान्छे आफ्नै ठाउँमा सुन्दर हुन्छन् । त्यसलाई झनै सुन्दर बनाउने भनेको मानवीय व्यवहारले हो । त्यसमा पनि झन् नारीलाई त सुन्दरताको प्रतीक नै मानिन्छ । त्यसैले यस्तो वा उस्तोभन्दा पनि देख्दा कस्तो मिलेको जोडी हो भन्ने सबैलाई भान होस् । हाइटको कुरा गर्नुपर्दा ठिक्कको होस् । सबैले जोडी मिलेको छ भन्नेसम्मको होस् भन्ने लाग्छ ।

नयाँ पत्रिकाबाट