काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मन्त्रीको नाम बुझाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । मन्त्रीको नामसहित बालुवाटार पुगेका दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् ।

मन्त्रालयको करिव करिव टुंगो लागिसके पनि कतिपय मन्त्रालय र मन्त्रीहरुको नाममा प्रधानमन्त्रीको निजी चासो छ । ओलीले पनि एमालेका तर्फबाट मन्त्री हुनेहरुको सूची तयार पारिसकेका छन् । दाहाल निकट स्रोतका अनुसार दुवैतिरका मन्त्रीको सूचीलाई एकीकृत गरेपछि नेताहरुबीच छलफल हुनेछ । ओलीले एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग पनि मन्त्रीको नामबारे छलफल गर्दैछन् ।

बालुवाटारबाट शपथको तयारी गर्न शीतल निवासमा सूचना पठाइसकिएको छ । सम्भवत: सोमबार दिउँसो ४ बजे मन्त्रीको शपथ कार्यक्रम राख्ने तयारी शीतल निवासको छ ।

प्रधानमन्त्री केपी ओलीले आइतबार नै मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिने तयारी गरे पनि माओवादी केन्द्रका अध्यक्ष दाहाल गृहजिल्ला चितवन गएका कारण एक दिन ढिला भएको हो ।

माओवादीले रामबहादुर थापाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । उनले गृह मन्त्रालय लिने बुझिएको छ ।

एमालेमा भने प्रधानमन्त्रीपछिको वरीयतामा रहने मन्त्रीको टुंगो लागेको छैन । एमाले खासगरी अर्थ मन्त्री हुन धेरै नेताको लविइङ बढेपछि प्रधानमन्त्रीलाई मन्त्री छान्न सकस परेको छ ।

वाम गठबन्धनको समर्थनमा यही फागुन ३ गते ओली प्रधानमन्त्री बनेका थिए । दुई दलबीच पदीय भागबन्डा र मन्त्रालय संख्या निर्धारणमा ढिलाइ भएकाले प्रधानमन्त्री नियुक्त भएको १० दिनसम्म पनि सरकार विस्तार हुन सकेको छैन ।