धरान । सुनसरी प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित ओसार पसार तथा बिक्रि वितरणमा संलग्न सात जनालाई नियन्त्रणमा लिएको छ।
जनकपुरबाट धरानतर्फ आउँदै गरेको बसबाट सोमबार ८६४ पिस स्पास्मोप्रोक्सिवन क्याप्सुल र सिलप्याक गरिएको ६४ बोतल डाईलेक्स डि.सी. बरामद भएपछि लागुऔषध ओसार पसारमा गिरोह नै सकृय रहेको खुल्न आएको छ।
इनरुवा नगरपालिका ३ सखुवागाढी चौकमा खटिएका प्रहरीले सवारी चेकजाँच गर्नेक्रममा जनकपुरबाट धरानतर्फ जादै गरेको बसमा सवार रहेका सुनसरी हरिनगरा गाउँपालिका ४ बस्ने साहिद अन्सारी र अबुल अन्सारीले कालो झोलामा लुकाई इटहरीतर्फ लैजादै गरेको अवस्थामा सो लागुऔषध बरामद भएको थियो।
बरामद लागुऔषध उनीहरुले इटहरीसम्म पुर्याई डेलिभरी दिने गरेको खुल्न आएपछि धरानबाट लागुऔषध लिन ईटहरी आउदै गरेका सुनसरी धरान उपमहानगरपालिका-५ वस्ने लाक्पा भन्ने आर्यन शेर्पा, धरान-४ वस्ने शेखर लिम्वु, धरान-१५ वस्ने लक्की गुरुङ र सोही स्थान वस्ने अविसन राईलाई को. १२ प ९६६५ र को. २ प २०२ नम्वरको मोटरसाईकलसहित इटहरी-४ हलगढा चौकबाट पक्राउ गरिएको छ।
प्रहरीले सुनसरी हरिनगरा-६ वस्ने वर्ष २८ को मुक्ताज अन्सारीलाई समेत हरिनगरा-४ घुस्कीबाट पक्राउ गरेको छ। आफ्नै घरमा औषधी पसल खोलेर बसेका सिएमए अन्सारीले घरबाटै धरान, इटहरीमा लागुऔषध सप्लाई गर्ने गर्थै ।
पक्राउ परेका व्यक्तिहरुलाई लागुऔषध बेचविखन अन्तरगत मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।