विराटनगर । झापा र मोरङमा सोमबार साँझ सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका १ मुस्लिम टोलमा सोमबार साँझ ट्याक्टरको ट्रलीले लागेर सहचालक भारत अररिया बस्ने ४० वर्षीय साजित मियाँको ज्यान गएको छ ।
साँझ करिब ६ बजेतिर को १त ६७६० नम्बरको ट्याक्टरको ट्रली जोड्नेक्रममा ट्रली उछिटिएर मियाँको छातीमा लाग्दा उनी गम्भीर घाइते भएका थिए। घाइते मियाँलाई तत्कालै उपचारकालागि गोल्डेन अस्पताल विराटनगर ल्याइएकोमा सोही साँझ साढे ६ बजे उनको मृत्यु भएको हो ।
यता झापाको मेचीनगर नगरपालिकामा ट्याक्टरको ठक्करबाट मेचीनगर नगरपालिका ४ बस्ने २४ वर्षीय कुमार भट्टराईको मृत्यु भएको छ भने शिवसताक्षी नगरपालिका ९ धरमपुर बस्ने २८ वर्षीय जीवन धिताल गम्भीर घाइते भएका छन। घाइतेको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
साँझ करिब ६ बजेतिर मेचीनगर नगरपालिका १० धारइजन मोडमा उनीहरु सवार को ३० प १५७२ नम्बरको मोटरसाइकललाई मे १ त १४०५ नम्बरको ट्याक्टरले ठक्कर दिंदा गम्भीर घाइते भएका दुबै जनालाई विएण्डसी अस्पताल पुर्याइएको थियो। मोटरसाइकल पछाडी सवार भट्टराईको सोही अस्पतालमा उपचार हुँदा हुँदै साँढ साढे ६ बजे मृत्यु भएको छ । दुबै घटनाका ट्याक्टर चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी कार्यालयमा राखिएको छ।