काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओली फोरमलाई सहमतिमा ल्याएर सरकारलाई पूर्णता दिने सोचमा भए पनि स्वयं एमालेमा मन्त्रीको झमेला सुल्झेको छैन ।

एमालेभित्रै अर्थमन्त्रीका दाबेबदार सचिव प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डेसँगै अहिलेसम्म मन्त्रीको अवसर नपाएका सचिव योगेश भट्टराई र अर्का सचिव गोकर्ण विष्ट दाबेदार छन् । ओलीलाई नजिकबाट सघाइरहेका विश्वासपात्र नेता ज्ञवाली फोरमसँगको बाँडफाँट टुंगिँदा महत्त्वपूर्ण मन्त्रालय पाउने सम्भावना कम हुने भएकाले सरकारमा सहभागी हुने कि नहुने द्विविधिामा छन् । पाण्डेसहित पदाधिकारी तहका दुई नेतालाई मन्त्री बनाउनुपर्ने दबाब प्रधानमन्त्रीसामु भएकाले २ या ३ मन्त्रालयमा अन्य आकांक्षीलाई मिलाउनुपर्ने हुन्छ ।

माओवादी भागमा परेका सातमध्ये दुई मन्त्री नियुक्त भइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित भइसकेको छ । समाचार अनुसार फोरम पनि सरकारमा सहभागी हुँदा एमाले र माओवादीले पाएको भागबाट एक–एकवटा कटौती गरेर दिनुपर्ने हुन्छ । अहिलेकै मन्त्रालयमा फोरमलाई समेट्ने निश्चित भए माओवादीले टुंग्याएको मन्त्रीको नाममा एकजना कटौती हुने सम्भावना देखिन्छ । त्यसैले मन्त्रीका लागि छानिएकाहरु रिङ आउट हुनसक्ने भन्दै सशंकित भएको छ ।