काठमाडौं । दुबईमा १० वर्ष पसिना बगाएपछि वीरगन्ज रानीघाटका उमेश चौरसिया स्वदेशमै केही गर्ने सोच बोकेर फर्किए। श्रीमतीसँग छलफल गरेर धागो सम्बन्धी व्यवसाय अघि बढाए।

तर, सुरुदेखि नै श्रीमती प्रियंकाले उनलाई असहयोग गरिन्। विभिन्न बहानामा उनीसँग पैसा मात्र माग्न थालिन्। जसका कारण उमेशलाई श्रीमतीप्रति अविश्वास बढ्दै गएको थियो। तर, उनलाई यतिसम्म पनि लागेको थिएन कि श्रीमतीले आफ्नो हत्या गर्न पनि पछि पर्दिनन्।

जब प्रियंका बिहीबार थापाथलीस्थित नर्भिक अस्पतालबाट पक्राउ परिन्, त्यसपछि पनि उनले घटनाबारे विश्वास गर्न सकिरहेका छैनन्। उमेशमाथि बुधबार राति वीरगन्जको रातोबंगला नजिकै गोली प्रहार भएको थियो। जुन घटनाको मुख्य योजनाकार उनकै श्रीमती २३ वर्षीया प्रियंका हुन्।

पर्साका एसपी डा गणेश रेग्मीका अनुसार, प्रियंकाको स्थानीय विकेन्द्र गुप्तासँग प्रेम सम्बन्ध थियो। श्रीमतीको हत्या गरेर प्रेमीसँग बिहे गर्न उनले एक आपराधिक समूहलाई एक लाख रुपैयाँको ‘सु्पारी’ दिएका थिए। सोही अनुसार बुधबार राति उमेशमाथि गोली प्रहार भयो। तर, उनी भाग्यले बाँच्न सफल भए।

एसपी रेग्मीका अनुसार, हत्याका लागि स्थानीय गुन्डा मनोज गुप्तालाई एक लाख रुपैयाँ दिइएको थियो। गुप्तालाई २५ हजार एडभान्स दिइएको थियो। प्रहरीले प्रियंका, बिकेन्द्र र मनोजलाई घटना भएको ६ घन्टाभित्रै पक्राउ गरेको छ। अर्का सहयोगी मुन्ना साह कानु पनि पक्राउ परेका छन्। प्रियंका र उनका प्रेमी बिकेन्द्र दुवै मिलेर हत्याको योजना बनाएका थिए।

घाइते उमेशको नर्भिक अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त छ। सटगनबाट गोली प्रहार भएकाले उनको शरीरमा ५०/५५ वटा छर्रा लागेको चिकित्सकले बताएका छन्।

वैदेशिक रोजगारीले निम्त्याएको अपराध

उमेश १० वर्षअघि २५ वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। ४ वर्षअघि प्रियंकासँग बिहे गरेर उनी फेरि दुबई नै गए। प्रियंकालाई पैसा पठाउँदै आएका थिए। श्रीमतीलाई सिएमए पढ्न उतैबाट पैसा समेत पठाएका थिए। नेपाल फर्किएर मिलेर व्यवसाय गर्ने सपना सुनाउँथे।

तर, प्रियंकाको सोच अर्कै थियो। उनी बिकेन्द्रसँग प्रेममा परिसकेकी थिइन्। प्रेमीसँगको नयाँ जिन्दगी उनको सपना थियो। सोही अनुसार श्रीमानले पठाएको पैसा प्रेमीलाई दिँदै आएकी थिइन्।

‘हत्याका लागि दिइएको पैसा पनि प्रियंकाले नै गहना बेचेर बिकेन्द्रलाई दिएको खुलेको छ’, एसपी रेग्मीले भने।

प्रहरीलाई बुधबार बेलुका नै प्रियंकामाथि शंका लागिसकेको थियो। प्रहरीले उनीसँग मोबाइल माग्दा दिन मानिनन्। श्रीमानको उपचारका लागि उनी ससुरासँगै काठमाडौं आएकी थिइन्।

प्रहरीले हत्या सम्बन्धी उनले बनाएका सबै योजना बताएपछि उनले सबै स्विकारेकी थिइन्। आफूलाई श्रीमानबाट यातना भएकाले हत्याको योजना बनाएको उनले बताएकी छन्। घटनापछि उमेशका परिवार मात्र होइन, वीरगन्जका सर्वसाधारण समेत चकित परेका छन्।

गोली हान्ने मनोज फरार अभियुक्त भएको अनुसन्धानमा खुलेको छ। उनी ज्यान मार्ने उद्योग मुद्दामा पनि फरार रहेको खुलेको छ।