काठमाडौं/ एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा एकाएक नेपाल प्रहरीको भ्यान तैनाथ भयो । मन्त्रीलाई दिइनेभन्दा बढी सुरक्षा तैनाथ गरिएपछि छिमेकीहरूले चासो दिन थाले । केही दिनअघिदेखि उक्त घरमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि आवत–जावत बढेको छिमेकीहरूले देखेका थिए ।
उनीहरूले अनुमान लगाए– ‘यो घरका मालिक एवं शैलुङ कन्ट्रक्सन कम्पनी प्रालिका प्रमुख शारदा अधिकारीले पक्कै पनि महत्वपूर्ण मन्त्रालय पाउँदैछन् ।’
तर यथार्थता त्यो थिएन । आफूलाई विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले पछ्याइरहेको भन्दै सुरक्षाको माग गरेपछि ठेकेदार अधिकारीलाई मन्त्रीसरह राज्यको सुरक्षा प्रबन्ध प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले मिलाइदिएका हुन् ।
एमाले–माओवादी पार्टी एकीकरणसम्बन्धी कार्यदलको अधिकांश बैठक यही घरमा बस्ने गर्दछ । बाहिर महँगो होटलहरूमा बस्ने बैठकको खर्च प्रबन्ध पनि उनैले गर्छन् । कहिलेकाहीँ ओली र प्रचण्डबीच भेटवार्ता गर्ने थलो पनि यही हो ।
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले साँच्चि नै निशाना बनाउन लागेको हो या ? उनी आफैंले सरकारी सुरक्षा लिन यो नाटक गरेका हुन् ? भन्ने प्रश्नमा समाचार स्रोतले उनको कथा यसरी सुनायो ।
शारदा अधिकारी जनयुद्धको सुरुवाती बेलाकै छापामार हुन्, उनको घर नुवाकोट हो । उनी यानप्रसाद गौतमका अत्यन्त विश्वासपात्र थिए । गौतमले चन्दा उठाउने मुख्य जिम्मेवारी यिनैलाई दिएका थिए, गौतम मातहत उठेको चन्दाको राखनधरण अधिकारीकै मातहतमा थियो । लुटिएको र चन्दा उठाइएको रकम अधिकारीले ठमेल र नयाँ बसपार्कतिरका नुवाकोटे व्यवसायीहरूलाई दिने गर्दथे ।
माओवादीभित्रकै आन्तरिक द्वन्द्वमा यानप्रसाद गौतम मारिएपछि अधिकारी पनि जनयुद्धबाट पलायन भए । काठमाडौं आएर कम्प्युटर तालिम गरी सानोतिनो व्यवसाय गरे । यसैबीच, उनले एकाएक ‘क’ वर्गको शैलुङ कन्स्ट्रक्सन कम्पनी खरिद गरे ।
यानप्रसाद मारिएका कारण सबै रकम उनको मातहतमा भएका कारण त्यही पैसा खर्च गरेर ठेकेदार कम्पनी नै किने । उनको ठेक्कापट्टा फस्टाउँदै गयो । तर माओवादीसँग उत्तिकै डर थियो उनलाई ।
माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डका छोरा प्रकाश दाहालसँग उनले सम्पर्क जोडे । पुरानै चिनजान भएकाले प्रकाशले पनि विश्वास गरे । प्रचण्डले पछिल्लो समयमा जम्मा गरेको रकम प्रकाश दाहालले व्यवसायमा लगाउन उनैलाई दिएका थिए । यसबापत प्रकाशलाई उनले खुमलटारमा घर नै किनिदिएका थिए ।
तर प्रकाश दाहालको अचानक निधन भएपछि प्रचण्डको पैसाको हिसाबकिताबसमेत दिनुपरेन । जसरी राजा वीरेन्द्रको बंश विनाशपछि कसैलाई अपुताली परेको थियो, त्यसैगरी यानप्रसाद गौतम मारिएपछि र प्रकाश दाहालको निधनपछि ठेकेदार अधिकारी अर्बपति बनेका छन् ।
आफ्नो धनको पूरा जानकारी विप्लवलाई छ भन्ने हेक्का अधिकारीले राखेका छन् । कुनै पनि बेला विप्लवको पार्टीले ‘जनयुद्ध’ मा जम्मा भएको रकम फिर्ता माग्न सक्ने डरले उनले मन्त्रीसरह सरकारी सुरक्षाकर्मी लिएको समाचार स्रोतले जनाएको छ ।
तरूण साप्ताहिकबाट