धनगढी/ राष्ट्रिय जनता पार्टीले आफ्नो पार्टीबाट प्रतिनिधि सभाको चुनाव जितेका रेशमलाल चौधरीलाई सपथ ग्रहणको व्यवस्था नगराए प्रदेश सभाको बैठक चल्न नदिने चेतावनी दिएको छ।
आइतबार बसेको प्रदेश नम्बर ७ को प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै राजपाका प्रदेश सभा सदस्य कृष्ण चौधरीले रेशमलाई सपथ ग्रहणको व्यवस्था नगरिए आगामी प्रदेश सभाको बैठक चल्न नदिने चेतावनी दिएका हुन्।
कैलाली १ बाट अत्यधिक मतसहित चुनाव जितेर पनि प्रमाणपत्र नदिनु र सपथ ग्रहणको व्यवस्था नगरिनु भनेको थारुहरुमाथिको राजनीतिक र जातीय अन्याय भएको उनको आरोप थियो।
‘हामी सबै जात र समुदायको समान प्रतिनिधित्वको पक्षमा छौँ, तर राज्यले थारुहरुमाथि विभेद गरेको महसुस हुँदैछ, सभामुख महोदय, यदि रेशमलाल चौधरीलाई चुनाव जितेको प्रमाणपत्र दिएर उनको सपथ ग्रहणको व्यवस्था मिलाउन गम्भीरतापुर्वक ध्यान दिइएन भने हामी आगामी संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिन चाहन्छौँ,’ प्रदेश सभाको बैठकमा बिशेष समय लिएर बोलेका चौधरीले भने।
उनले रेशमलाई प्रमाणपत्र नदिनु र सपथ ग्रहणको व्यवस्था नमिलाउनु उनले पाएको ३४ हजार भन्दा बढी मतको अपमान भएको आरोप लगाए।