काठमाडाै । विद्यार्थीहरूले आफ्नो साथी बचाउनका लागि साढे ६ लाख रुपैयाँ संकलन गरेका छन् । त्यसमध्ये पनि चिया बेचेर ४ लाखभन्दा बढी रकम संकलन भएको हो । साथी ब्लड क्यान्सरबाट पीडित भएपछि उनलाई बचाउन विद्यार्थी साथीहरूले चिया बेचेर संकलन गरेको रकम पीडितलाई हस्तान्तरण गरिएको छ । दोलखा सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविको कक्षा ९ मा अध्ययन गर्दैगरेका १४ वर्षीय किशोर मदन केसी ब्लड क्यान्सरबाट पीडित भएपछि उनका साथीहरूले सदरमुकामको सातदोबाटो चोकमा एक हप्तासम्म चिया बेचेर रकम संकलन गरेका थिए । बुधबार सो रकम प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापामार्फत् पीडितका बाबु नारायण केसीलाई हस्तान्तरण गरिएको हो । गौरीशंकर बोर्डिङ स्कुलका विद्यार्थीहरूले चिया बेचेर संकलन गरेको रकम, विद्यालयले उपलव्ध गराएको ५० हजार रुपैयाँ र अभियानबाट प्रभावित भएर इजरायलबाट पठाएको ७० हजार गरी ४ लाख हजार ३४ हजार ४२५ रुपैयाँ पीडितका बाबु केसीलाई हस्तान्तरण गरिएको हो । पहिले गौरीशंकर बोर्डिङ स्कुल पढेका मदनको बहिनी मनीषा अहिले गौरीशंकर बोर्डिङ स्कुलमै पढ्छिन् । साथीलाई एकदिन निरास देखेपछि उनीबाट मदनलाई ब्लड क्यान्सर भएको थाहा पाएको उल्लेख गर्दै चिया बिक्रीका एक अभियन्ता आशिष चौलागाईँले भने, “उनको कुरा सुनेर हामीलाई पनि निकै दुःख लाग्यो र चिया बेचेर रकम संकलन गर्ने अभियान चलायौँ ।” आशिष गौरीशंकर बोर्डिङ स्कुलको कक्षा ७ मा पढ्दैछन् । गौरीशंकर बोर्डिङ स्कुलको कक्षा ५, ६ र ७ का विद्यार्थीहरूले यो अभियान चलाएका हुन् । मदन केसी एक वर्ष अघिसम्म गौरीशंकर बोर्डिङमा अध्ययन गरेका हुन् । गत वैशाखदेखि मात्र उनी कालिञ्चोक मावि गएका हुन् । साथी बचाउन कालिन्चोक माविका विद्यार्थीहरूले पनि आफूहरूबाट रकम उठाए, अभिभावकबाट रकम संकलन गरे र सो विद्यालयका शिक्षकहरूले पनि रकम थपिदिए । यसबाट विद्यालयले अहिलेसम्म २ लाख २० हजार ९२८ रुपैयाँ संकलन गर्यो । मदनलाई बचाउन रकम संकलन गर्ने कार्य निरन्तर रहेको विद्यालयका प्रधानाध्यापक नवरान न्यौपानेले जानकारी दिए । भीमेश्वर नगरपालिका ५ घर भएका मदन केसी करिब १ महिनादेखि नागरिक अस्पतालमा उपचार गराइरहेका छन् ।