काठमाडौं/ राष्ट्रिय महिला आयोगले आफ्नो १६ औँ स्थापना दिवस मनाएको छ । आयोगको सभाहलमा भएको कार्यक्रममा सहभागीले आयोग बालिग अवस्थामा पुगेको भन्दै सबल ढंगले अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा आयोगकी पूर्व अध्यक्ष नैनकला थापाले कार्य दक्षताका हिसाबले आयोगलाई सक्षम बनाउनुपर्ने बताइन् । उनले लैंगिक समानताको विभेद अन्त्य गर्न आयोगको भूमिका महत्वपूर्ण हुने बताइन् ।
संसदमा ३३ प्रतिशत महिलाको सहभागिता रहेको भन्दै आगामी दिनमा महिलाका दिनहरु सहज हुने थापाले बताइन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले जबसम्म महिला र पुरुष सँगसँगै हुँदैनन्, तबसम्म देशको विकास सम्भव नहुने बताइन् ।
उनले भनिन्, ‘अझैपनि महिलाको आन्दोलन रोकिएको छैन । हाम्रो आन्दोलन बाँकी छ । आन्दोलनलाई पूर्ण बनाउन तयार हुन महिला दिदीबहिनीलाई आग्रह गर्दछु ।’
खड्गीले अबको पाँच वर्ष पछिको स्थानीय तहमा ५० प्रतिशत महिला प्रमुख भएर आउनुपर्ने बताइन् । उनले आफू न्यायिक समितिको संयोजक रहेको भन्दै आगामी दिनमा आयोगसँग पुलको भूमिका निर्वाह गर्दै अघि बढ्ने प्रतिवद्धता गरिन् ।
आयोगकी पूर्व सदस्य लिली थापाले आयोगले निवेदन दर्ता मात्रै नगरी महिलालाई सक्दो न्याय दिन पहल गर्नुपर्ने बताइन् । उनले आयोग समग्र महिलाको समस्यालाई एक्सन दिन सक्ने थलोको रुपमा विकास हुनुपर्ने बताइन् ।
आयोगका पूर्व सचिव शरदराज विष्टले अझै पनि महिलाको आर्थिक अवस्थामा सुधार आउन नसकेको बताए । उनले काम गर्ने क्षेत्रमा महिलाको अवस्था दयनीय रहेको बताए ।
सो अवसरमा अधिकारकर्मी सुशिला श्रेष्ठले महिला आन्दोलन र सफलताको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै परिवार र समाजलाई महिलामैत्री बनाउनुपर्नेमा जोड दिइन् । उनले तल्लो तहबाटै महिलालाई ३० देखि ५० प्रतिशत अधिकार छुट्याउनुपर्ने बताइन् ।
वरिष्ठ अधिवक्ता गीता पाठक सङ्ग्रौलाले महिलाहरुको हक अधिकार सम्बन्धी कानूनी एवम् व्यवहारिक व्यवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा आयोगका उपन्यायाधिवक्ता युवराज महतले आयोग पदाधिकारीविहीन अवस्थामा रहेको भन्दै संवैधानिक सुनुवाईपछि मात्रै आयोगले पूर्णता पाउने बताए ।
आयोगका सचिव तुलसीराम सेढाइको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण निर्मला गुरुङले गरेकी थिइन् ।
महिला खबर