काठमाडौं/ प्रतिनिधिसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध भएका छन् । सभामुखमा महराकोमात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा पुगेर महराले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका देव गुरुङको समर्थनमा महराले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नै नदिने निर्णय गरेको छ । सभामुख सबैको साझा हुने भएकाले आफ्नो दलले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
सभामुखमा उम्मेदवारी दिएपछि नेता महराले संघीय संसदले धेरै कानुन बनाउनुपर्ने भएकाले आफूले त्यसलाई प्राथमिकता दिने बताए ।
उनले सबै दललाई सहमतिमा लिएर संसदीय प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । सभामुख चयनका लागि शनिबार दिउँसो १ बजे मतदान हुने कार्यतालिका छ ।
प्रतिनिधिसभा कार्यसन्चालनको अन्तरिम विधिअनुसार एकमात्र मनोनयन परेपनि प्रस्ताव निर्णायार्थ पेस हुनेछ । एकभन्दा बढी प्रस्ताव परेको भए प्रतिनिधिसभामा मतविभाजन गर्नुपर्ने व्यवस्था छ ।
प्रतिनिधिसभाको हालको अंकगणितअनुसार सभामुखमा निर्वाचित हुन सभाको बहुमत अर्थात् कम्तीमा १३८ मत आवश्यक पर्नेछ । प्रतिनिधिसभामा २७५ सदस्य छन् ।
वाम गठबन्धनबीच प्रतिनिधिसभाको सभामुख माओवादी केन्द्रबाट र राष्ट्रियसभाको अध्यक्ष एमालेबाट हुने सहमति भएको थियो । सोही सहमतिअनुसार माओवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिएको हो ।
नेकपा माओवादी केन्द्रभित्र शालिन नेताको परिचय बनाएका महरा तत्कालीन नेकपा माओवादी शान्ति–प्रक्रियामा आएपछि लगातार लाभका पदमा पुग्दै आएका छन् ।
वि।सं। २०६३ सालपछि लगातार सांसद बनेका महरा, उपप्रधानमन्त्री र मन्त्रीसमेत भइसकेका छन् । उनी पार्टीभित्र पनि महत्वपूर्ण रणनीतिकारकारुपमा परिचित छन् ।
इमेजखबर