काठमाडौं/ प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई संविधानको मुल दायराभित्र हिँड्न आग्रह गरेका छन् ।
शनिबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा मुख्यमन्त्री राईले भने–‘विप्लव समूह अब संविधानको मुल दायराभित्र आएर हिँड्नुको विकल्प छैन । सरकार मुलुकमा सुशासन, भ्रष्टाचार, अपराध नियन्त्रणमा कठोरताका साथ प्रस्तुत् हुन्छ ।’
मुलुकमा राजनीतिक क्रान्तिको चरण पूरा भएको भन्दै उनले आर्थिक क्रान्ति, सुशासन, स्थायी शान्ति र दिगो विकास हासिल गर्ने बाटोमा हिँड्ने समय आएको बताए ।
‘अबको युग भनेको स्थायी शान्ति, राजनीतिक स्थायित्व, सुशासन र विकासको हो, यसको लागि सरकार गम्भीर भएर लागिपर्छ’–उनले भने ।
चैत १५ भित्र पार्टी एकता नेकपा एमालेका नेता राईले आगामी चैत १५ गतेभित्रै एमाले–माओवादी केन्द्रबीच पार्टी एकता घोषणा हुने बताए ।
उनले भने–‘हामी सम्पूर्ण तयारीमा जुटिसकेका छौं, चैत १५ गतेभित्रै वाम गठबन्धन अब पार्टी एकतामा परिणत हुन्छ ।’
प्रदेश–१ ‘सानो नेपाल’ प्रदेश नम्बर–१ का प्राथमिकताहरु विशेष कार्यक्रममार्फत् आफूहरुले यसअघि नै सार्वजनिक गरिसकेको उल्लेख गर्दै मुख्यमन्त्री राईले भने–‘प्रदेश–१ मा धेरै सम्भावना छ । १ नम्बर प्रदेश सानो नेपाल नै हो । यहाँ हिमाल, पहाड र तराई छ । सुन्दर बनावट छ । यहाँ पाँचओटा अग्ला हिमालहरु छन् । सगरमाथा, मकालु, कन्चनजंघादेखि कोसीटपुसम्मका निकुञ्जहरु यहीँ छन् ।’
यसका अलावा यो प्रदेश नदीनाला, खोला, झरनाहरुले पनि भरिपूर्ण रहेको उनको भनाइ थियो ।
‘हाम्रो प्रदेश जलस्रोतको पनि धनी छ । साँस्कृतिक, धार्मिकरुपमा पनि हामी भरिपूर्ण छौं’–उनले भने–‘हलेसी, पाथीभरा, बराह, छिन्ताङजस्ता ऐतिहासिक धार्मिकस्थलहरु यहीँ छन् ।’
उनले प्रदेश नम्बर–१ चियाको राजधानी भएको बताए ।
मुख्यमन्त्री राईले वनजंगल, जडिबुटीलगायत पर्यटनको पनि राम्रो सम्भावना बोकेको प्रदेश भएकाले विकास र समृद्धि हासिल गर्नसकिने धारणा राखे ।
चीन र भारतसँगमात्रै नभएर बंगलादेश र भुटानसँग पनि प्रदेश नम्बर–१ को सीधा सम्पर्क रहेको उनले जनाए ।
कृषि उत्पादनमापनि प्रदेश नम्बर–१ सवल रहेको उल्लेख गर्दै उनले भने–‘हाम्रो प्रदेशको माटो पनि उर्वर छ । सिँगै मुलुकलाई खाद्यान्न धान्नसक्ने क्षमता हाम्रो प्रदेशसँग छ ।’
त्यस्तै, औद्योगिक हबदेखि शैक्षिक केन्द्रसम्म बन्ने सम्भावना प्रदेश–१ मा रहेको उनले जिकिर गरे ।
आगामी बजेट सुशासन र समृद्धिमा जोड दिएर आउने पनि उनले विश्वास दिलाए ।
उनले प्रदेश नम्बर–१ को स्थायी राजधानी र नामाकरण गर्नेबारेको विषय छिट्टै संसदमा प्रवेश हुने जानकारी दिए ।
प्रदेश–१ मा गुन्डागर्दी, तस्करीलगायतका अपराधलाई पूर्णनियन्त्रण गरिने उनको भनाइ थियो ।
मिडियामाथि अंकुश गलत मुख्यमन्त्री राईले कुनैपनि मनसायले मिडियालाई नियन्त्रण गर्न र अंकुश लगाउन सम्भव नभएको पनि बताए ।
उनले मिडियामाथि नियतपूर्वक नियन्त्रण र अंकुश लगाउने वा निसाना र आक्रमण गर्नु गलत भएको उल्लेख गरे ।
उनले सुशासन कायम, भ्रष्टाचार र अपराध नियन्त्रण गर्दै देश बनाउने महाअभियानमा मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्नेबेला आएको पनि सुनाए ।