काठमाडौं/ कैलालीको टीकापुर हिंसाका मुख्य अभियुक्त रेशम चौधरीको उपचार वीर अस्पतालमा सुरु भएको छ । शनिबार साँझ ६ ३० बजे काठमाडौं ल्याइएका चौधरीलाई सिधै अस्पताल पुर्याइएको हो ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशन लगत्तै चौधरीलाई धनगढीबाट युबद्ध एयरको विमानमा काठमाडौं ल्याइएको थियो ।
कैलाली जिल्ला कारागारमा ७ दिनदेखी अनसनरत चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि, उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । शनिवार दिउँसो बेहोस भएर उपचारका लागि सेती अञ्चल अस्पताल पुगाईएका चौधरीलाई अस्पतालका डाक्टरले रेफर गरेका थिए ।
रेशमलाई शनिबार साँझ हवाई मार्ग भएर काठमाडौं ल्याइएको हो । एकजना प्रहरी नायव निरिक्षक र एकजना हवल्दारको सहयोगमा उनलाई शनिबार साँझ सवा ५ बजेको बुद्ध एयरको उडानबाट काठमाडौं पठाएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।
शुक्रवार पनि बेहोस भएपछि रेशमलाई सेती अञ्चल अस्पताल लगिएको थियो। तर, उनले शुक्रबार अस्पतालको सलाईन पनि नचढाउने र औषधि पनि नखाने बताएका थिए। उनले अस्पतालले दिएको औषधि नखाने भनेपछि उनलाई शुक्रबार कारागारमै लगिएको थियो।शनिबार उनको पिसावमा रगत देखा परेपछि उनलाई काठमाडौं रेफर गरिएको सेती अञ्चल अस्पतालका डाक्टर सन्तोष बिसीले बताए।
२०७२ भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहार हत्याकाण्डमा मुख्य दोषी रहेको आरोप छ। टीकापुर घटनाका फरार अभियुक्त चौधरीले फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। त्यसअघि उनी भारत बस्दै आएका थिए।
आत्मसर्पण गरेका चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठाएको थियो। थुनामा रहँदा चौधरीले आफु विरुद्ध लागेको मुद्धा खारेव गर्नुपर्ने र आफुले सपथ खान पाउनुपर्ने माग गर्दै अनशन थालेका थिए । अनसन सुरुगरेपछि स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै गृहमन्त्री बादलले थप उपचारका लागि चौधरीलाई काठमाडौं ल्याउन शनिबार निर्देशन दिएका हुन्।
राजपाको तर्फबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी शाह १३ हजार ४०६ मत ल्याएर पराजित भएकी हुन्।
सरकारले चौधरीको उपचारपछि मुद्दा थप शसक्त बनाउने तयारी गरेको छ ।