पानवारी । हेटौंडादेखि धरानसम्म ३ सय १८ किमि सडक दुई लेन विस्तार कार्य भईरहेको बेला पूर्वका स्थानीयवासीले उक्त सडकलाई चुरे फेदीहुदै इलामसम्म जोड्न माग गरेका छन् ।

हेटौडादेखि निर्माण सुरु भएको सडक धरानसम्ममात्र जोडिन २०७३ मंसिरमा ठेक्का लागेको उत्त सडक निर्माणको करिव १५ प्रतिशत भएको भौतिक पूर्वधार तथा यातायात मन्त्रलाय अन्तर्गत सडक विभागका इन्जीनियर कविश तण्डुकारले जानकारी दिएका छन् । तर धरानदेखि पूर्व सडक निर्माण गर्न भने मन्त्रालयले कुनै तयारी गरेको छैन । २०५५ सालमा धरानबाट पूर्वमा पानवारी, केराबारीहुदै लेटाङसम्म चुरेफेदी मार्ग हुदै नियमित बस सेवा सञ्चालनमा आएपनि सरकारले वेवास्ता गर्दा करिब १ वर्ष चलेर बन्द हुन पुगेको थियो । उक्त सडकमा अहिलेपनि हिउदको समयमा बेलाबखत सवारी सञ्चालन हुदै आएको छ तर बर्षा सुरु भएसँग धेरै खहरे तथा खेलाले यातायात अवरुद्ध गर्ने गरेको छ ।

महेन्द्र राजमार्ग निर्माण हुनुपूर्व कोशी पूर्वका पहाडी भुभागबाट भारत पुग्ने मुख्य बाटोको रुपमा रहेको उक्त मार्गमा अहिलेपनि भोजपुर, धनकुटा, तेह्रथुम लगायतका पहाडी जिल्लाबाट गाइगोरु हिडाएर लैजाने मुख्य बाटो हो ।

विभिन्न समयमा सडक निर्माणको लागी समिति बन्ने र पहल गर्ने गरेको भएपनि अहिलेसम्म यसले सार्थकता पाएको छैन । भर्खर मात्र मोरङको लेटाङमा भएको भेलाले वृहस्पति खतिवडाको संयोजकत्वमा चुरेफेदी सडक सरोकार समिति गठन गरेको छ । समितिमा इलामदेखि, झापा, मोरङ, सुनसरी र उदयपुरसम्म सडकले छुने वडाका वडाध्यक्ष तथा सम्बन्धित स्थानीय तहका प्रमुख सदस्य रहने गरी समिति निर्माण गरिएको हो ।

समितिले सडक निर्माण गर्न पहल गर्ने उदेश्यले पहिलो काम स्वरुव काठमाडौ पुगेर प्रधानमन्त्रीदेखि शिर्ष नेता तथा विभिन्न मन्त्रालयमा भेटघाट गरी ज्ञापन पत्र समेत बुझाएका छन् । समितिको एक टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ, अर्थ मन्त्री डा. युवराज खतिवडालाई भेटी ज्ञापन पत्र बुझाएका छन् ।

सुनसरी क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य जयकुमार राईको नेतृत्वमा गत बिहीबार प्रधानमन्त्रिलाई उक्त सडक विस्तारका लागि बजेट छुट्याउन माग गरिएको थियो चुरेफेदी सडकलाई पूर्वका छ वटा जिल्लावासीले धरान–पानवारी, हुदै इलामसम्म जोडन् सरकारसँग माग गर्दै आएका छन् । उक्त सडक चुरे क्षेत्र हुदै पूर्व पश्चिमसम्म जोड्न बजेट विनियोजनका लागि सरकारसँग अपिल गरेका छन् ।

सांसद जयकुमार राईले चुरेफेदी मार्गलाई राष्ट्रिय गौरबको योजनामा समावेश गर्न आफुहरुले जोडदार आवाज उठाउदै आएको जानकारी दिएका छन् । उनले भने चुरेफेदी मार्ग हेटौडादेखि मेचि नदिसम्म जोडिएमा १ नं. प्रदेश मात्र नभई सिंगो मुलुकको विकासमा महत्वपूर्ण उपलब्धी हुने बताए ।

चुरेफेदी मार्ग सरोकार समितिले ६ जिल्लाका स्थानीय तह जोडिने गाउँपालिका नगरपालिकाहरुलाई केन्द्रीय सरकारलाई बजेट विनियेिजनका लागि पत्रचार समेत गरेको छ । चुरे मार्ग सरोकार समितिका सदस्य नरेश इवरामका अनुसार मेचीको पश्चिम किनार झापा–इलामको सिमाना दुधेचौरीबाट झापा, मोरङ, सुनसरी हुदै उदयपुर हुदै राजधानी जोड्ने सरकारको महत्वकाक्षी योजना अन्तर्गत इलामको रोङ गाउपालिका–६ सलकपुरबाट काम शुरु भई सकेको छ । झापासम्म करिव १५ किमी सडकको डिपीआरसमेत भईसकेको चुरेफेदी मार्ग सरोकार समितिका अध्यक्ष वृहषपति खतिवडाले जानकारी दिए । त्यहाँबाट साधुकारटर, सुखानी, दानाबारी, चुलाचुली, दकम, बेलडागी, जाँते लेटाङ, केरावारी, पानवारीहुदै धरानसम्म सडक विस्तारका लागि राष्ट्रिय योजनामा पार्न पूर्वका ६ जिल्लाका राजनीतिक दलका प्रतिनीधि तथा नागरिक समाजले चुरे सरोकार समाज नै गठन गरेर २०७५÷२०७६ को सरकारको बजेटमा पार्न लविङ शुरु गरेका हुन् ।

इलामदेखि धरानसम्म जोडिदा चुरेक्षेत्रहँुदै हेटौडा–काठमाण्डौसम्म सडक संञ्जाल पुग्ने बताइएको छ । यस सडकले चुरे क्षेत्रका स्थानीयबासी लाभान्वित हुने खतिवडाले बताए । ज्ञापन पत्र बुझाउन समितिका अध्यक्ष खतिवडा, समितिका सचिव एंव एमाले सुनसरी अध्यक्ष रमेश बस्नेत, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी, धरान–१५ नं. वडा अध्यक्ष नरेश इवराम, झापा–२ नंं क्षेत्रका सांसद राम कार्की, मोरङ २ नं. क्षेत्रका घनश्याम खतिवडा, सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राई लगायतको टोली सहभागी रहेका थिए ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रि ओलीले उक्त सडकलाई गौरवको आयोजना अन्तर्गत समावेश गरि बजेट व्यवस्था गर्ने बताएको सांसद राईले जानकारी दिए । प्रधानमन्त्री र अर्थमन्त्री दुवै उक्त योजनाप्रति सकरात्मक रहेको राईले बताए ।