काठमाडौँ/ नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको अन्तिम संस्कार भोलि गरिने भएको छ । खड्काको पार्थिव शरीर आज साँझ काठमाडौं ल्याइने तयारी भएको कांग्रेसले जानकारी दिएको छ ।

भारतमा उपचाररत् खड्काको हिजो निधन भएको थियो । नेपालमा रहँदा माइल्ड स्ट्रोक भएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । २ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न छोडेपछि थप उपचारका लागि भारत लगिएको हो । फागुन ६ गते दिल्ली लगिएका खड्काको हिजो एपोलो अस्पतालमा साँझ निधन भएको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार साँझसम्म खड्काको पार्थिव शरीर काठमाडौं ल्याईने छ । लगत्तै खड्काको पार्थिव शरिरलाई उनकै सानेपास्थित घरमा राखिनेछ ।

अन्तिम श्रद्धाञ्जलीका लागि भोली बिहान ९ बजे सानेपास्थित कांग्रेस पार्टी केन्द्रिय कार्यालयमा राखिने छ । पार्टी केन्द्रिय कार्यालयमै नेता कार्यकर्ताले खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्नेछन् । खड्काको पार्थिव शरिरलाई भोलि अपरान्ह आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कांग्रेसले जनाएको छ ।