‘आफ्नो लडाइँमा म बेसहारा छु । किनकी मेरो पीडा कसैले देखेन त्यहि कारण मैले यति ठूलो कदम उठाउनु पर्यो । मैले सार्वजनिक स्थानमा कपडा उतारेँ ।’
यो भनाइ हो तेलुगु नायिका श्रीरेड्डी मल्लिडीको । तेलुगु फिल्म उद्योगमा यौन उत्पीडनको बिरुद्ध आवाज उठाउँदै गएको हप्ता हैदराबादको फिल्म नगरमा मुभी आर्टिस्ट एसोसिएशनका अगाडि श्रीरेड्डीले आफ्नो कपडा उतारेकी थिइन् ।
श्रीरेड्डीका अनुसार आफ्नो कुरा सुनाउनका लागि एवं आफ्नो मागका विषयमा सरकारको जवाफ लिन यहि एउटा बाटो बाँकी थियो ।
‘फिल्म दुनियाका ब्यक्ति मेरो नाङ्गो तस्विर एवं भिडियो पठाउन आग्रह गर्छन् भने सार्वजनिक स्थानमै कपडा किन नउतारुँ,’ उनले भनिन् ।
श्रीरेड्डीले आफ्ना करिअर एक स्थानीय टिभी च्यानलमा एक प्रोजेक्टरको रुपमा सुरु गरेकी थिइन् । पाँच वर्षपछि उनले फिल्ममा काम गर्न थालिन् । उनले केही तेलुगु फिल्ममा सानोतिनो भूमिका निर्वाह गरेकी छन् ।
अहिलेसम्म उनले आफू यौन उत्पीडनमा परेको कुनै सबुत पेश गरेकी छैनन् । प्रहरीमा कुनै उजुरी पनि गरेकी छैनन् । अहिले यो पनि चर्चा सुरु भएको छ । आम सर्वसाधारणको ध्यान खिचेर लोकपि्रय हुन यसो गरेकी त होइनन् ? मिडियाले सस्तो लोकपि्रयताको लागि उक्साएको पो हो कि ? यस विषयमा पनि चर्चा परिचर्चा सुरु भएको छ । तर उनी यो कुरा स्विकार्दिनन् ।
तेलुगु फिल्म उद्योग अर्थात टलिउड हिन्दी र तमिल फिल्म उद्योगपछि ठूलो फिल्म उद्योग हो । केन्द्रीय फिल्म प्रमाण बोर्डको वार्षिक सूचीअनुसार २०१५/०१६ मा २६९ फिल्म बनेको थियो ।
‘कास्टिङ काउच’ सबैभन्दा ठूलो मुद्दा बन्ने गरेको छ । यस्तो समाचार छापिन्छ तर, फिल्म उद्योगमा यस्ता विषयमा बोल्न कोही तयार हुँदैनन् ।
श्रीरेड्डीको तरिका सही कि गलत ?
श्रीरेड्डीलाई मुभी आर्टिस्ट एसोसिएसनले प्रतिबन्ध लगाएको छ । संगठनका अध्यक्ष शिवाजी राजाले बीबीसीलाई दिएको जानकारीअनुसार उनले गलत ब्यवहार प्रस्तुत गरेकाले प्रतिबन्ध लगाइएको हो । उनी प्रश्न गर्छन्, ‘उनले प्रहरीमा किन उजुरी गरिनन् । यो केवल प्रचारका लागि हो ।’
तेलुगु फिल्म निर्माता दग्गुबत्ती सुरेश बाबुले श्रीरेड्डीको शैलीले आम भारतीय महिलाको अपमान गरेको आरोप लगाए । श्रीरेड्डीले भने सरकारले फिल्म उद्योग नै बन्द गर्नुपर्ने माग गरेकी छिन् । उनले आरोप लगाउँदै भनेकी छिन् ‘यहाँ अवैध गतिविधि हुन्छ, साथै कतिपय बलात्कृत भएका छन् ।’