ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ का दाबारेञ्जी शेर्पाले गत वर्ष प्रति मन १६ हजाररुपैयाँले ४० मन चिराइतो खरिद गरे । शेर्पाले किनेलगत्तै भाउ ओरालो लाग्यो । भाउ बढ्ने आसमा एक वर्ष त्यत्तिकै राखे । यस वर्षको सिजन अन्त्य हुन लाग्दासमेत नबढेपछि तीन दिनअघि प्रतिमन आठ हजारले बेच्न बाध्य भएको शेर्पाले बताए । ‘मूल्य बढ्ला भनेर एक वर्षसम्म राखियो,’ शेर्पा निराश हुँदै भने, ‘झन् घट्ने छाँट देखेपछि घाटा सहेरै बेचेको हुँ ।’

शेर्पाले ४५ रोपनीमा चिराइतो लगाएका छन् । दुई वर्ष अगाडि मूल्य बढेर प्रतिमन ३५ हजार पुगेपछि हौसिएर चिराइतो लगाएका शेर्पा निराश छन् । सिरिजंगा गाउपालिका–८ याम्फुदिनका कृषक रामबहादुर तामाङले पनि दुईवर्ष बिटा–बिटा बनाएर घर नजिकैको ग्वालीमै थुपारे । उनले पनि आठ हजारमै बेच्नुप¥यो । फक्ताङलुङ गाउपालिका–६ लेलेप, लावाजिनका जीतबहादुर राई पनि चिराइतोले भाउ नपाउँदा चिन्तित छन् । अलैँची उत्पादन नहुने यो क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत नै चिराइतो हो । पूर्वको याम्फुदिन र उत्तरको लावाजिनका मात्रै नभएर जिल्ला भरिका कृषक चिराइतोको मूल्य घटेपछि निराश छन् । आठ हजारमा बेच्दा खर्चसमेत नधान्ने तामाङको भनाइ छ । ‘यति मूल्यमा बिक्री गर्नु शुन्य आय हुनु हो ।’ तामाङले भने । व्यापारीले सडकमा पु¥याउँदा मात्रै यति मूल्य पाउँछन् । यातायात चल्ने आम्बेगुदिनको हप्पुखोलासम्म पु¥याउँदा एक क्विण्टलको भाडामात्रै पाँच हजार रुपैँया बुझाउनु पर्छ । त्यो पनि खच्चडले बोक्न मानिदिए मात्रै । रामबहादुर भन्छन्, ‘मान्छेलाई त त्योभन्दा बढी दिनुपर्छ । गोडमेल गरेको, उखेलेको, बारीबाट घरसम्म ल्याएको एक पैसा हात लाग्दैन ।’ मूल्यमा गिरावट आएपछि व्यवसाय धान्नै गाह्रो परेको व्यापारीहरू बताउँछन् । ‘सरकारलाई प्रतिकिलो १५ रुपैयाँ राजश्व तिर्नुपर्छ, ढुवानीमा ठूलै खर्च हुन्छ, मूल्य पनि छैन,’ व्यापारी सविन बानियाँले भने, ‘अब कारोबार गर्ने कि नगर्ने दोधारमा परेको छु ।’

सदरमुकाम फुङलिङमा आठ हजारले किने पनि यातायातको असुविधाका कारण तिब्बत पुग्दा खर्च दोब्बरले बढ्ने बानियाँ बताउँछन् । फुङलिङबाट तापेथोकसम्म मात्रै सवारी पुग्छ । त्यहाँबाट ओलाङचुङगोलासम्म मानिस र खच्चरलाई बोकाएर लैजाँदा प्रतिकिलो एक सय ८० रुपैयाँ लाग्ने उनको भनाइ छ । केही वर्ष पहिलेसम्म पूर्वका जिल्लामा उत्पादिन चिराइतोको बजार भारत थियो । तर पछिल्लो तीन वर्षयता तिब्बतमा बढी मूल्य पाउने भए पनि व्यापारीहरूले ताप्लेजुङको ओलाङचुङगोला नाकाबाट तिब्बततर्फ निकासी गर्न थालेका हुन् । ताप्लेजुङसहित इलाम, पाँचथर, तेह्रथुम र सङ्खुवासभाको समेत चिराइतो ओलाङचुङगोलाबाट तिब्बत निर्यात हुने बानियाँ बताउँछन् । अघिल्ला वर्षहरूमा मूल्य उच्च हुँदा हेलिकप्टरबाट समेत तिब्बत लगिएको थियो । व्यापारीका अनुसार चारवर्ष अघि एक लाख प्रतिक्विण्टल रहेको मूल्य तीनवर्ष अघि ३० हजार भएको थियो । गत वर्ष ८ हजारमा झरेको मूल्य अहिले यथावत् छ ।

चिराइतो खेतीमा कृषकलाई प्रोत्साहन वन कार्यालयको तथ्यांक अनुसार ताप्लेजुङमा एक हजार, पाँचथर र इलामम चार हजार टनको हाराहारीमा उत्पादन हुने गरेको छ । वन कार्यालयले चिराइतो खेती गर्ने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

यस वर्ष ८ जना कृषकलाई अनुदान सहयोग गरेको सहायक वन अधिकृत जीवनकुमार यादवले जानकारी दिए । चिराइतोले राम्रो मूल्य पाउन थालेपछि पूर्वी पहाडी जिल्लामा गाउँलेहरूबीच चिराइतो खेती गर्ने लहर चल्न थालेको छ । पहिले आलु, मकै देखिने बारीका पाखाहरूमा अहिले चिराइतो लगाएको देख्न सकिन्छ । समुद्री सतहबाट करिब १२ सयदेखि ३ हजार मिटर उचाइसम्म पाइने चिराइतो एक किसिमको जडीबुटी हो । औषधिका रूपमा प्रयोग गरिने यो वनस्पति शक्तिर्वद्धधक टनिक र बियरमा तीतोपन ल्याउनसमेत प्रयोग गरिन्छ । ‘स्वेरसिया चिराता’ वैज्ञानिक नामको यो जडीबुटी कीटाणुनाशक मानिन्छ । चिराइतो खेती यसको बीउबाट गरिन्छ । यसलाई समशितोष्ण जलवायु र आद्रतापूर्ण क्षेत्र उयुक्त हुन्छ । जमिनमा पानीको राम्रो निकास हुनुपर्छ । कात्तिक, मंसिरतिर बीउ छरिन्छ । बीउ सानो हुने भएकाले पहिले नर्सरीमा बेर्ना बनाएर सार्दा अझ राम्रो हुन्छ । असार, साउनदेखि असोजसम्ममा यसको फूल फुल्छ । फूल परिपक्व भएपछि चैत महिनाअघि नै बोटै उलेल्नुपर्छ । १ हजार ५ सयभन्दा माथिको उचाइमा सप्रिने चिराइतोबाट आम्दानी लिन रोपिएको अढाई वर्ष पर्खनुपर्छ । चिराइतो जङ्गली जनावरले नखाने र रोगकीरा समेत नलाग्ने बिरुवा हो ।