संस्कृत भाषाको ‘योग’ शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोध’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतका सकारात्मक गुणको विकास हुन्छ।तर योगाभ्यास गर्दा कतिपय अवस्थामा हाम्रा दैनिक क्रियाकलापहरुमा समानता भेटिँदैन। असन्तुलित आहारव्यहार तथा दैनिकीका कारण योगको प्रभाव हाम्रो शरिरमा पूर्णरुपमा नदेखिन सक्छ।

योग अभ्यास कसरी र कति गर्ने त? विभिन्न १५ उपायहरु यस्ता छन्।

१) खाली पेट बिहान योग गर्नु सबैभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टापछि र हल्का खाएको दुई घन्टापछि गर्नुपर्छ। २) योग अभ्यास सकेर आधा घन्टाजति कुरेर त्यसपछि मात्र खाना खान मिल्छ। ३) हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट र बढीमा ९० मिनेटसम्म योग गर्न सकिन्छ। ४) अभ्यासका क्रममा लुगा खुकुलो एवम् सजिलो हुनुपर्छ, अझ सुतिको भए उत्तम हुन्छ। ५) शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा अभ्यास गर्नुपर्छ। ६) चस्मा र कन्ट्याक लेन्स छ भने अभ्यास गर्दा झिक्नुपर्छ। ७) दिसा-पिसाब गरेर मात्र अभ्यास गर्नु बढी लाभदायक हुन्छ। ८) महिलाले महिनावारी भएको बेला कडा अभ्यास गर्नुहुँदैन। यस्तो बेला किर्तन, ध्यान, प्राणायाम मात्र गर्दा राम्रोहुन्छ। ९) प्रत्येक योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म र्पुयाउन सकिन्छ। १०) सामान्यतया अगाडी टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल उच्च गराउँछ। तर मुटु, हर्निया तथा उच्च रक्तचाप भएकाले यो अभ्यास गर्नु हुँदैन। ११) कुनै पनि आसन गर्दा शरीरलाई जबर्जस्ती जोड गर्नु हुँदैन। १२) दीर्घरोग भएकाले योग विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ। १३) योगबाट असर तथा फाइदा लिन कम्तीमा ३ देखि ६ महिना नियमित अभ्यास गर्नुपर्छ। १४) उच्च रक्तचाप, मुटुरोग, श्वासप्रश्वास, अनिद्रा तथा स्मरणशक्ति न्यून भएकाले प्राणायाम गर्दा श्वास रोक्न हुँदैन। १५) अपरेसन गरेका बिरामीले कम्तीमा २ वर्षपछि अथवा विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ ।