चक्रघट्टी । जङ्गली जनवारलाई गाउँ प्रवेशमा नियन्त्रण गर्न कोशी टप्पू वन्यजन्तु आरक्ष सुनसरीले लाखौं खर्चेर निर्माण गरेको सोलार फेज प्रभावहीन बनेको छ । वन्यजन्तुलाई सोलार फेजले कुनै असर नगर्दा आरक्ष आसपासका गाउँहरु सदैब आतङ्कित बन्दै आइरहेका छन् । विशेष गरी सुनसरीको बराहक्षेत्र नगरपालिका–९, १० र ११ नम्बर वडाबासीहरु आरक्षबाट आउने जङ्गली हात्ति, अर्नाका कारण त्रसितसँगै वर्षेनी केहीले ज्यान गुमाउँदै गइरहेका छन् । केही दिनअघि मात्रै बराहक्षेत्र–९ शान्तिचोकको भुनिदेवी चौधरीको हात्तिको आक्रमणबाट भाग्ने क्रममा ज्यान गएको छ । फेज निर्माणपछि चौधरीको मृत्यु प्रतिनिधि उदाहरणमात्रै हो । चौधरी जस्ता धेरै बराहक्षेत्रबासीको ज्यान तथा अङ्गभङ्ग भएको स्थिति छ । आरक्षले ५० लाख रूपैयाँको लगानीमा कोशी क्याम्पदेखि हरिपुरसम्म १७ किलोमिटर फेज लगाए पनि वन्यजन्तुको लागि प्रभावहीन बनेको हो । जङ्गली जनवारहरू गाउँ प्रवेश गर्न नसकुन् भन्ने उद्देश्यले आरक्ष र सीमसार आयोजनाले २०६४ सालदेखि सोलार फेज लगाएको छ । सोलार फेजमा कुनै पनि जनवारले छुने बित्तिकै करेन्टको झड्का लाग्छ । जसका कारण जङ्गली जनवारहरू भाग्ने गर्दछन् । फेजले भैसी, अर्ना र गाईको हकमा प्रभावकारी भएको भए पनि हात्ती, दुम्सी, गोहोरो, अजिङ्गजस्ता जनवारको हकमा लागू हुन सकेको छैन । जन जागरण मध्यवर्तिय सामुदायिक बन अध्यक्ष शेषराज माझीले सोलार फेज प्रभावकारी नभएको दाबी गरे । यसअघि विधुत्बाट चेन्जर लगाएर तारमा करेन्ट लगाइने गरीएको थियो । फेज लगाए पनि हात्ति, अर्ना, दुम्सी, बदेल लगायत जनवारले दुख दिने गरेको वडासदस्य बिमला चौधरीले बताइन् । खेत बालीमा उब्जनी भएको अन्नपात जंगली जनावरले खाएर हैरान बनाउने गरेको उनले दुखेसो गरिन् । बारीमा लगाएको बालीनाली खाए त ठिकै हो मानिसको ज्यानै लिन थालेपछि भने समस्या भएको प्रमिला थापा बताउँछिन् । घाँस काट्ने, बस्तु चराउने गोठालाले हेलचेक्राई गरी सोलार फेजको बीचबाटै घास दाउरा ल्याउने, फेजबाटै बस्तु हिडाउने लगायतले सोलार फेज प्रभावकारी बन्न नसकेको आरक्ष बताउँछ । जंगली जनावरका लागि सोलार फेज भन्दा क्रंकिटको वाल लगाउनु पर्ने बराहक्षेत्रका नगर प्रमुख निलम खनालले बताए । विसं २०३२ मा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । कूल १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ । आरक्ष सन् १९८७ रामसार सूचीमा सूचीकृत भएको नेपालकै ठूलो रामसार क्षेत्रसमेत हो । यहाँ ४८९ प्रजातिका चरा,२१९ को संख्यामा दुर्लभ अर्ना र करिब ११–१२ वटा दुर्लभ डल्फिन समेत संरक्षित रहेको आरक्षले जनाएको छ ।