देशभरका नयाँ नगरको साझा चूनौति फोहोर व्यवस्थापन बनेको छ । हरेक नगरमा अहिले फोहोर व्यवस्थापनका लागि ‘डम्पिङ साइट’ अभाव छ । कतिपय नयाँ नगरले डम्पिङ साइटको विषयमा सोचेकै छैनन् भने भएका पुरानै नगरको पनिे समस्या यथावत छ । नगर विकासको आधार स्तम्भका रूपमा रहेको डम्पिङ साइटको उचित व्यवस्थापनमा कुनै पनि नगर यसविषयमा गम्भीर देखिदैन । प्रदेश १ को डम्पिङ साइटको अवस्थाबारे धरानबाट केदार बस्नेत, इटहरीबाट धनबहादुर पुरी, बराहक्षेत्रबाट बिमला घिमिरे, विराटनगरबाट अनिल श्रेष्ठ, बेलबारीबाट भक्तशेर लिम्बू, पथरीशनिश्चरेबाट भूपेन्द्र तिम्सिना, उर्लाबारीबाट मदन प्रसाई, विर्तामोडबाट प्रेम आचार्य, भद्रपुरबाट उत्तम नेपालको चासो :
धरान डेस्क । नयाँ र पुराना नगरको साझा समस्याको रूपमा डम्पिङ साइट बनेको छ । पुराना नगरले पनि फोहोर व्यवस्थापन खोला, खोल्सी, जङ्गल तथा निजी जग्गामा व्यवस्थापन गर्ने गरेको छ । कुहिने र नकुहिने फोहोर व्यवस्थापन त झनै हुन सकेको छैन । धरानमा कुहिने फोहोर दैनिक २२ टन उत्पादन हुने गरेको छ । नकुहिने फोहोर करिव २० टन उत्पादन हुने धरान उपमहानगर वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख भेषराज घिमिरे बताउँछन् । तर यी फोहोरहरू धरानले अहिले पनि सेउती खोला किनारमा डम्पिङ गर्ने गरेको छ । सामान्य घेराबारा गरेर राखिएको फोहोरकै कारण वर्षेनी रामधुनी नगरपालिकाबासी गुनासो गर्न आइपुग्ने गरेका छन् । नगरले कुहिने फोहोरबाट वायो ग्यास निकाल्ने दाबी गरेको छ । त्यसो त यो दाबी यसअघि पनि नगरेको होइन । तर हालसम्म वायोग्यास निकाल्न भने सकेको छैन । वायो ग्यास निकाल्नकै लागि धरान उपमहानगरले भानुचौकमा रहेको सौचालयमा पनि लाखौं रकम खर्चिएको थियो । तर, ग्यास निकाल्न भने सकेन् त्यो रकम बालुवामा पानीझैं बन्यो । एकवर्ष भित्र दैनिक ११ सय केजी वायोग्यास उत्पादन गर्ने लक्ष्यका साथ नगरले भेञ्चर वेष्ट इनर्जी प्रालि काठमाडौंसँग सम्झौता गरिसकेको छ । उपमहानगरकी उपमेयर मञ्जु भण्डारी सुवेदीले यसै वर्षभित्र उर्जा उत्पादन हुने दाबी गरेकी छन् । नकुहिने फोहोरबारे नगर बोलेको छैन । पूर्वको हरित नगरी उपनाम पाएको इटहरीको अवस्था कहालीलाग्दो छ । इटहरीले पनि दैनिक सङ्कलित फोहोर जङ्गलमै ‘डम्प’ गर्ने गरेको छ । कतिपय फोहोर सार्वजनिक स्थानमा फ्याक्ने गरेको उपमहानगर आफै बताउँछ । इटहरीको चूनौतिको रूपमा रहेको डम्पिङ साइटका लागि इटहरी नगरले १० नम्बर वडामा निर्माण गर्ने तयारी थालेको दाबी उपमहानगरका बरिष्ठ इन्जिनियर अर्जुन दाहालको छ । पाँच विगाहा क्षेत्रफलमा निर्माण भइरहेको डम्पिङ साइट १३ करोड लागतको हो । इटहरीमा दैनिक ५० टन फोहोर उत्पादन हुन्छ । इटहरीसँग सहकार्य गर्दै फोहोर व्यवस्थापन गर्र्दै आएको इन्भारो केयरका व्यवस्थापक कृष्ण भट्टराईले व्यवस्थित डम्पिङ साइट नहुँदा फोहोर फाल्न समस्या रहेको सुनाउँछन् । प्रदेश १ को अस्थायी राजधानी तथा प्रदेशकै महानगर विराटनगरको अवस्था झनै नाजुक छ । महानगरमा दैनिक एकसय ८२ दशमलव २५ मेटिूक टन फोहोर निस्कन्छ । महानगरले वेष्ट म्यानेजमेन्ट ग्रुपलाई फोहोर उठाउने जिम्मा दिएको छ । कम्पनीले विराटनगर(७ केशलिया खोला किनारमा अस्थायी रूपमा निर्मित २ विगाहा क्षेत्रफलमा दैनिक फोहोर फ्याक्ने गरेको छ । महानगरका कतिपय स्थानका फोहोर संकलन गर्न ग्रुपले पनि सकिरहेको छैन । महानगरको पनि आफ्नै छुट्टै ‘डम्पिङ साइट’ छैन । कान्छो नगर बराहक्षेत्रको अवस्था उस्तै छ । दैनिक उत्पादित फोहोर सप्तकोशी किनार, गौरी खोला, नहरका डिल र जङ्गलमा व्यवस्थापन गर्ने गरेको छ । तर, नगर प्रमुख निलम खनाल भने डम्पिङ साइटको लागि तयारी भइसकेको दाबी गर्छन् । भन्छन्, ‘बराहक्षेत्र(७ बीचपानी जङ्गलको छेउको खाली जमिनमा राख्ने तयारी भइसकेको छ । त्यसका लागि आईईई परीक्षण पठाएको तर रिपोर्ट आएको छैन ।’ डम्पिङ साइट हरेक नगरको टाउँको दुखाइको विषय बनिरहेको बराहक्षेत्रका नगर प्रमुख खनालको भनाइबाट प्रष्टिन्छ । मोरङको बेलबारीमा पनि फोहोरको चुनौति उस्तै छ । बेबारीले पनि लोहोन्द्रा खोलाको छेउमा फोहोर फाल्दै आएको छ । नगरका मेयर ज्ञानेन्द्र सुवेदीले लाहोन्द्रा खोलामा फाल्दै आए पनि यसपटकदेखि भाडा तिर्नु पर्ने अवस्था सृजना भएको बताए । त्यस्तै केराबारी गाउँपालिकामा पनि डम्पिङ साइटको समस्या देखिएको छ । फोहोर फाल्ने व्यवस्थित नहुँदा स्थानीय समस्यामा परेका छन् । अहिले केराबारीको फोहोर जङ्लमा फालिदै आएको छ । केराबारीले वन कार्यालयसँगको समन्वयमा सडक किनारमै फोहोर फाल्दै आएको छ । केराबारी(८ का वडाध्यक्ष मनोज खड्काले जंगलको फोहोर पुरपार गर्ने गरेको बताए । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले बेलबारी, सुन्दरहरैचासँग सहकार्य गरेर ल्याण्डफिल साइड बनाउने विषयमा छलफल चलिरहेको बताए । त्यसका लागि कानेपोखरीमा जग्गा हेरेको बताए । मोरङको पथरीशनिश्चरे, लेटाङ, कानेपोखरी गाउँपालिका पनि समस्या उस्तै छ । डम्पिङ साइटको अभावमा अहिले अधिकांसले जङ्गलमै फोहोर फ्याक्दै आइरहेका छन् । जसले जनताको स्वास्थ्यमा गम्भीर असर गर्ने स्वास्थ्यकर्मी बताउँछन् । कानेपोखरी गाउँपालिका अध्यक्ष तारा काफ्लेले फोहोर व्यवस्थापनका लागि चासो रहेको बताए । ‘यो हाम्रो मात्रै समस्या होइन । त्यसैले आसपासका गाउँपालिका तथा नगरपालिकासँग छलफल गरिरहेका छौं ।’ उनी भन्छन् । मोरङको उर्लाबारी नगरमा निजी जग्गामा फोहोर व्यवस्थापन गर्दै आएको छ । नगरले मेचीमहाकाली इन्भायरमेन्ट केयर प्रालिसँग सहकार्य गर्दै विगत डेढ वर्षदेखि निजी जग्गामा फोहार व्यवस्थापन गर्दै आएको हो । तर दिर्घनकालीन होइन । प्रालिका व्यवस्थापक नेत्रप्रसाद घिमिरेले मंगलबारेमा रहेको ल्याण्डफिल साइट बक्रा खोलाले कटान गरेपछि समस्या भोग्दै आएको बताए । नगरमा १० टन फोहोर दैनिक निस्कने गरेको छ । नगरका मेयर खड्ग फागोले फोहोर व्यवस्थापनको लागि डेढ विगाहा जग्गा खरिद प्रक्रियाको अन्तिम चरणमा पुगेको बताए । दमक, विर्तामोड तथा भद्रपुरमा पनि डम्पिङ साइट नहुँदा अहिले फोहोर व्यवस्थापन चुनौति बनेको छ । दमकमा दैनिक २० टन फोहोर उत्पादन हुन्छ । विर्तामोडमा फोहोर व्यवस्थापनमा सङ्कट उत्पन्न भएको छ । दैनिक कति फोहोर निस्किन्छ भन्नेसम्म नगरपालिकाका प्रतिनिधिहरूलाई जानकारी छैन । जनप्रतिनिधिको जवाफ पनि उस्तै छ, ‘एक टूयाक्टर फोहोर निस्किने गरेको छ ।’ त्यो एक टूयाक्टर भनेको कति हो भन्नेसम्म उनीहरूलाई ज्ञान नभएको पाइयो । विर्तामोड नगरपालिकाका प्रमुख धु्रबकुमार शिवाकोटी भने फोहोरमैलाको राजनीति हुने गरेको भन्दै पन्छिन्छन् । वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक कुलप्रसाद निरौलले हालसम्म डम्पिङ साइट नभेटिएको बताए । उनी वडा ४ का अध्यक्षसमेत हुन् । उनका अनुसार अहिले ३ नम्बर वडामा सार्वजनिक जग्गामा अस्थायी डम्पिङ साइट बनाइएको छ ।
भद्रपुरमा डम्पिङ साइटको जग्गा घाडो विज्ञहरुको सल्लाह बिपरित लाखौ रकममा खरिद गरिएको नगरपालिकाको फोहोर फाल्ने ठाउँ घाडो भएको छ । भद्रपुर नगरपालिका क्षेत्रभित्र रहेको फोहोरलाई व्यवस्थापन गर्न नौबर्ष अघि खरिद गरिएको ६ विगाहा १० धुर पाँच का जमिन नगरलाई घाडो भएको हो । नगरले ०६५ कार्तिक १० मा २४ लाख ५३ हजार एकसय मूल्यमा खरिद गरेको जनाएको छ । साविक चन्द्रगढी ३ हाल भद्रपुर नगरपालिका ९ हडिया खोला छेउमा रहेको जग्गा लाइ नजिकै रहेको चन्द्रगढी विमानस्थलले असुरक्षा देखाउदै रोक लगाएपछि नगरपालिकालाई घाडो भएको हो । जग्गा हालसम्म प्रयोविहीन भएको छ । फोहोर का कारण चराचुरङ्गीले विमानमा असर पुर्याउने भएकोले फोहोर फाल्न नदिएको चन्द्रगढी नागरिक उड्डयान कार्यालय प्रमुख पूर्ण चुडालले बताए । विमानस्थल बाट दुइ देखि तीन किलोमीटर भित्र चिडिया खाना, डम्पिङ् साइड सञ्चालनमा आए चराचुरुङगीले विमान दुर्घटना गराउने भएकोले रोक लगाउनु परेको उनको भनाई छ । एयरपोर्टका कारण खरिद गरेको जग्गामा फोहोर फाल्न नपाइने भद्रपुरका मेयर जीवन कुमार श्रेष्ठले बताए । हाल भद्रपुर ५ मेची किनारमा खाडल खनेर फोहोर फाल्दै आएको उनको भनाई छ । नगरले यसको दिर्घकालिन व्यवस्थापनको लागि प्रत्येक वाडमा एउटा डम्पिङ् साइडको राख्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । दैनिक कति फोहोर उत्पादन हुन्छ भन्ने बारे थाहा नभएको उनले जनाए । कुहिने नकुहिने फोहोर एकैठाउँमा फालेका कारण फोहोरको मात्रा बढेको वातावरणविद् ज्ञानेन्द्र चौधरीले बताए । ६५ प्रतिशत कुहिने २५ प्रतिशत पुनः प्रयोग हुने र १० प्रतिशत मात्र फाल्नु पर्ने भएकोले जनचेतनाको अभावले समस्या आएको उनको भनाइ छ । १० प्रतिशतको लागि थोरै स्थान भए हुने उनको भनाइ छ ।
धरान र दमकले उर्जा निकाल्ने धरान र झापाको दमक नगरमा उत्पादित फोहोरलाई ग्यास उत्पादन गर्ने भएको छ । धरानले भेञ्चर वेष्ट इनर्जी प्रालि काठमाडौंसँग सम्झौता गरिसकेको छ भने दमकले वैकल्पिक उर्जा केन्द्रले फोहोर र त्यसबाट उत्पादन हुने उर्जा सम्बन्धी डिपीआर सर्वे गरिसकेको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ प्राविधिक शशिमान अमात्यले दमकको फोहोरबाट दैनिक ३३ किलोवाट भन्दा बढी विद्युत उत्पादन हुने देखिएको बताए । अहिले दमकमा समस्यको रुपमा रहेको फोहोरबाट ४ सय ८२ घनमिटर बायोग्यास उत्पादन गर्न सकिने उनको दावी छ । वातावरणमैत्री स्थानीय शासन प्रारुप ०७० तथा फोहोरमैला व्यवस्थापन ऐन ०६८ ले त फोहोर गर्ने पक्षलाई विजुली, पानी, टेलिफोन सहितका अत्यावश्यकीय सेवा समेत बन्द गर्न सक्ने नीति बनाएको छ । अर्कातर्फ ६ महिनासम्म सजाय र ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने कानूनी प्रावधान छ । यस्तै इलाम नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न थालेको छ । हप्तामा दुई पटकसम्म कुहिन फोहोर संकलन गर्ने गरेको छ भने अन्य दिन नकुहिने फोहोर संकलन गर्दै आएको छ । नगरपालिकाले शान्ति अभियानसँगको सहकार्यमा मेसिन खरिद पश्चात कुहिने फोहोरबाट कम्पोष्ट मल तयार पारी कृषकलाई वितरण गर्दै आएको छ । कम्पोस्ट मल बनाउने काम भइरहेको र प्रति किलो ३० रुपैँयाका दरले कृषकलाई मल वितरण गरिने गरेको छ । नकुहिने फोहोर व्यवस्थापन गर्न भने इलाम नगरपालिका वार्ड नम्बर ९ खाल्डेमा रहेको छ । जिल्लामा नयाँ संरचना थपिए पश्चात मेची राजमार्गको फोहोरलाई हप्तामा एक चोटी उठाउने तयारी भएकाले र फोहोर व्यवस्थापन गर्न ट्याक्टर थपिएको इलाम नगरपालिकाका सूचना अधिकारी राम कुमार शाहले बताए । फोहोर संकलन गर्ने कार्य निरन्तर गर्दा समेत व्यवस्थापन हुन नसकेको उनले बताए ।