[caption id="attachment_93915" align="alignnone" width="1000"] फायलफोटो[/caption]

बिर्तामोड/ आइतबार रातिदेखिको अविरल वर्षापछि फूलमती खोलामा आएको बाढीले कल्भर्ट बगाउँदा बिर्तामोडदेखि छोटो बाटो हुँदै इलाम जाने राजमार्ग अवरुद्ध भएको छ ।  बाढीले कल्भर्ट बगाएपछि सोमबार बिहानदेखि बिर्तामोडदेखि खुदुनाबारी, दानाबारी हुँदै इलाम जाने राजमार्ग अवरुद्ध बनेको हो । मौसमको प्रतिकूलताको कारणले गर्दा सडक निर्माण गरेर सञ्चालन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।  हाल वैकल्पिक मार्ग प्रयोग गरेर सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी साविक राजगढ–१ मा बाढी पसेर ५ घर डुबानमा परेको झापा रेडक्रसले जनाएको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले पूर्वमा अझै केही दिन लगातार वर्षा हुने बताउँदै नदी किनाराका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । विभागले बाढी बुलेटिन जारी गर्दै झापा, मोरङ, सुनसरी लगायतका खोला–नालामा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको हो ।