ताप्लेजुङ । ताप्लेजुङको उत्तरी क्षेत्रमा पर्ने फक्ताङ्लुङ गाउपालिका वडा नं ६ लेलेपका पुर्ण रुपले अपाङ्ग भक्तबहादुर लिम्बूले वडा सचिव भानु भक्त श्रेष्ठलाई परबाट आउँदै गरेको देखे । आफ्नै घर तिर आउँदै गरेको देखेपछि बिस्तारै घष्रीँदै भएपनि उनि पिँडी सम्म आएर बसे । लिम्बूको मुहारमा कुनै नयाँ कुराको अनुभुति झल्कीएको थियो ।
उन्लाई हिँड्न डुल्न पनि गाह्रो छ । एउटा भएको भतिज पनि खोरीया फँडानीका लागि जंगल मै बस्छन् । उनी आफै हिड्दुल गर्न सक्दैन्न त्यसैले घर मै बसेर उन्को दैनिकी चल्छ । विगत का समयमा भत्ता बुझ्न कसैको साहारा मागेर कसैको काँधमा चढेरै तत्कालिन गाविस कार्यालयमा पुग्नुपथ्र्यो उनलाई कि त उन्कै भतिजलाई भत्ता ल्याईदिन आग्रह गर्नुपथ्र्यो ।
हिमाली जिल्लाको अफ्ठ्यारो बाटो त्यसमा पनि बाेकेर गाविस भवन सम्म पुर्याउनु पर्ने, मुस्किलले घर फर्कन्थे ।भत्ता बुझ्न जाँदा एकजना साथी नभई हुन्थेन ।तर विगत केहि समय देखि उनलाई भत्ता बुझ्न घर छोडेर कतै जानुपरेन । कर्मचारी घरमै आएर हातमा आठ हजार थमाएर गएपछी खुसी भए ।
उनले भने “घरमै पैसा ल्याएर दिँदाको खुसी हुँदैन र हजुर, सप्पै खुसी हुन्छ नी ।, म पनि खुसी हुन्छु तपाई पहि खुसी हुनुहुन्छ । पैसा पाउँदा सबैलाई खुसी लाग्छ नी ।,”
स्पष्ट रुपले बाेल्न अनि हिँड्न पनि नसक्ने भक्तबहादुरले वडा सविच भानु भक्त श्रेष्ठलाई सोधे, “तपाई फेरी पनि कैले आउनु हुन्छ ?” वडा सविच श्रेष्ठले भक्तबहादुरको हातमा समाउँदै जवाफ फर्काए, “अब कार्तिकमा आउँछु ।” भक्तबहादुरको मुहारमा हर्सका तरंग फैलिएको देखिन्थ्यो ।
अनि उन्को मुहारमा मन्द मुस्कान छायो । उन्ले भने, “हुन्छ............. ।” स्थानिय तहमा सरकार आएपछि फक्ताङ्लुङ गाउँपालिकाका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्याउने गरेको निर्णयले यहाँका वृद्धवृद्धा, अपाङ्ग सबैलाई वरदान नै भएको छ । भौगोलिक रुपले विकट ताप्लेजुङमा वडा कार्यालय सम्म पुग्नु पर्ने वाध्यता हट्दा स्थानिय सरकारको महसुश भएको बताउँछन यहाँका स्थानिय । घरैमा पाएको भत्ताबाट उन्ले त्यति ठुलो सामान किन्ने पनि चाहाना राखेनन् । हामीले यो पैसाले के गर्नुहुन्छ ? भनी सोध्दा उन्को जवाफ थियो, “नुन तेल किन्छु, चामल किन्छु, लुगा किन्छु, त्यती हो ।”
भत्ता बाड्न आफुँ पुग्दा वृद्धवृद्धाले धन्याबाद सहित आशीर्बाद समेत दिने गरेको वडा सचिव श्रेष्ठको अनुभव छ । बुद्धा भत्ता लिन आफन्तलाई लिन पठाउने झन्झटबाट आफू मुक्त भएको उनिहरुले बताउने गरेको वडा सचिव श्रेष्ठले बताए । वडा सविच श्रेष्टका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा मात्रै १५० जनाको सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्याउने गरिएको छ । यसैविच सोहि गाउँपालिकाका वडा नं ७ ओलाङचुङ्गोलामा २० जना रहेका छन् ।
भौगालिक रुपले विकट स्थान भएकाले एक जनालाई भत्ता दिएपछि अर्का व्याक्तिकोघर सम्म पुग्न कम्तिमा पनि २ देखि ४ घण्टा सम्म लाग्ने गरेको श्रेष्ठको भनाई छ । सामाजिक सुरक्षा भत्ता प्रत्येक ४ महिनामा दिने गरिएको छ । अबको भत्ता भने दसैँको छेको पारेर वितरण गरिने उनले बताए ।