भद्रपुर । भद्रपुर भन्सारबाट बाहिरिन लागेको सामान दुइदिनपछि फेरी गोदाममा राखिएको छ । भन्सारको गतिविधिका बारेमा मङ्गलबार ब्लाष्ट टाइम्स दैनिकमा समाचार प्रकाशित भएसगै कर्मचारी र व्यापारीको कर्तुक सार्वजानिक हुनबाट जोगिन व्यापारीले सवै सामान गोदाममा थन्काएका हुन् । लोड गरिएको सामानमा गडबढी भएको सूचना राजस्व अनुसन्धानको टोलीले जानकारी पाएको भन्ने सूचना भन्सार कर्मचारी तथा व्यापारीले चाल पाएपछि सामान पक्राउ पर्ने तथा कर्मचारीलाइ पनि समस्या हुने डरले गोदाममा राखेर व्यापारी फर्किएको पुष्टि भएको छ । प्रज्ञापन पत्र भरेर आइतबार दिनभर लोड गरेर भन्सारमा गाडी राखेपनि राजस्वको टोलीले भद्रपुर नछाडेपछि व्यापारीले मङ्गलबार विहानै सामान गोदामा राखेका थिए । आइतबार साँझ भद्रपुर भन्सारबाट पास हुनलागेका आधा दर्जन मालवाहक गाडीमा रहेको सामान दुइदिनपछि पुनः भन्सार गोदाम राखिएकोे विषयमा सवै चकित भएका छन् । यस्तो नाटक सम्भवत पहिलो भएको जानकारहरु वताउँछन् । भन्सारमा सरदर प्रतिपोका ७ हजार मूल्यमा सामान पास हुने गरेको व्यापारी स्रोतको दाबी छ । प्रज्ञापन पत्र भरेको दुइ दिनसम्म सामान बाहिर नगएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धानले तत्काल चासो देखाउनु पर्ने स्थानीयको माग छ । यता भन्सार कर्मचारी लोकेन्द्र बम भने प्रज्ञापन पत्र भरेपनि रकम नबुझाएका कारण सामान गोदाममा राख्नु परेको बताउँछन् । गोदामबाट निस्किसकेको सामान पुनः गोदाममा राख्न नपाइने वताउदै आएका कर्मचारी बमले मङ्गलबार सामान लाइ गोदाम राखेपछि शङ्का उत्पन्न भएको छ । उनले आफनो बचाउ गर्दै नियममिचेर कुनै काम नगरेको दाबी गर्छन् । केही सामानको जाँचपास भइसकेको र अन्य सामानको पनि क्रमश प्रक्रिया अघि बढने भनेर सोमबार जवाफ दिएका बमले मङ्गलबार भनाइ फेरेका छन् । राज्यले भन्सार शुल्क बढाएकोे व्यापारीलाइ जानकारी नभएपछि सामान नकाटि गोदाममा नै राखिएको व्यापारी राजा सरकारले बताए । व्यापारीलाइ मार पर्नेगरी सामानको राजस्व बढाएकोले सहमति गरेर केही दिनपछि सामानको राजस्व तिर्ने उनले जनाए । घटना विवरण अनुसार व्यापारी र कर्मचारीलेको आपसी मिलेमतोमा आइतबार लोड गरिएका सवैसामग्री प्रज्ञापन पत्रसँग मिल्दो जुल्दो नभएको सूचना राजस्व अनुसनधान कार्यालयले थाहा पाएको थियो । कर्मचारी र व्यापारीबिच भएको सहमतिमा गरिएको काम सार्वजानिक हुने डरले अहिले दुवैपक्ष जोगिनलाइ आ–आफ्नो ढङ्गले पुष्टयाइ दिइरहेका छन् । भन्सारमा रहेको सामान भद्रपुरका अधिकाम्स व्यापारीको रहेको छ । ती व्यापारीले प्राय कपडाको काम गर्दै आइरहेका छन् । भद्रपुर कपडा तस्करीको ‘ट्राञ्जीट पोइन्टको ’रुपमा परिचित छ । भन्सारमा न्यून बिल बिजक प्रयोग गरी सामान लैजाने, प्रज्ञापन पत्र भरिसकेर जाँचपास भइसकेपनि गाडी भन्सारमा नै राख्ने, राजस्व तिरेको पोकासँगै अर्को पोका गाडीमा राख्ने ,सामान अनुसारको राजस्व नकाटने लगायतको हर्कत भन्सारमा हुदै आएको छ । चाडपर्व नजिक आएसँगै दायाँवायाँबाट भन्दा भन्सारमा ‘सेटिङ् ’मिलाएपछि सामान सुरक्षित हुने व्यापारीको बुझाइ छ । भन्सारमा सहज भइसकेपछि पछिल्लो समय अन्य नाकाहरुमा तस्करी कम भएको छ । भन्सारसँग कुरा नमिलेमा कारोबारीले झापा भन्दा वाहिरी जिल्लाबाट तस्करी गर्ने गरेका कयौं घटनाहरुबाट पुष्टि भइसकेको छ ।