भद्रपुर । महिलालाइ जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाइ ५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कनकाइ नगरपालिका–३ घरभई हाल तेह्रथुम आठराइ गाउपालिका–३ ह्याकूका ३९ वषिय नेत्र प्रसाद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फरार रहेका तिम्सिनालाइ केन्द्रीय अनुसन्धान ब्यूरो तथा जिल्लाबाट खटिएको प्रहरी टोलीले भदौ २४ गते इलामबाट पक्राउ गरिएको जिल्लाका एसपी भीमप्रसाद ढकालले जनाए । तिम्सिनाले कनकाइ नगरपालिका–३ की ३६ वर्षिया महिलालाइ गत ०७० असोज १५ गते राती ९ बजे घरमा एक्लै बसेको मौका पारेर विभिन्न डर,धाक धम्की दिइ मुख थुनेर जबरजस्ती करणी गरी फरार भएको एसपी ढकालको भनाइ छ । घटनापश्चात आफनो नाममा रहेको घरजग्गा समेत श्रीमती इन्दीरा शिवाकोटीको नाममा नामसारी गरी घर जग्गा अर्कै व्यक्तिलाइ जिम्मा लगाइ पुर्खौली घर तेह्रथुम आठराइ गाउपालिका–३ ह्याकूमा कुखुरा पालन व्यवसाय गर्दै आएको सूचना प्रहरीले पाएको ढकालले बताए । प्राप्त सूचनाको आधारमा गएको प्रहरी टोलीले इलाममा फेला पारिएको उनले जनाए । पीडित महिलाको उजुरीको आधारमा तिम्सिनालाइ झापा जिल्ला अदालतले ०७३ मङ्सीर १२ गते मूलुकी ऐन जबरजस्ती करणी महलको ३(५) नम्बर अनुसार ५ वर्ष सजाय हुने ठहर भै फैसला सुनाएको थियो ।