भद्रपुर/ झापाको कचनकवल गाउँपालिकाका दुईजना परिषद् सदस्यलाई कडा कारबाहीको माग गरी स्थानीयले नाराबाजी गर्दै ज्ञापन–पत्र बुझाएका छन् । केही दिनअघि गाउँपालिकाले आयोजना गरेको दोस्रो गाउँसभामा परिषद् सदस्यले न्यायिक तथा परिषद् महिला सदस्यलाई सभामा घाइते बनाएको घटनालाई लिएर दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापन–पत्र बुझाएका हुन् ।  गाउँपालिका क्षेत्रबाट नाराबाजी गर्दै सयौंको सङ्ख्यामा बिहीबार गाउँपालिकामा आएका थिए । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन गाउँ इकाई समितिको नेतृत्वमा आएका उनीहरूले महिलामाथि हातपात गर्नेलाई कारबाही गर, गाउँपालिकाले गरेको निर्णय उल्टाउन पाइँदैनलगायतका नाराबाजी गरेका थिए । गाउँसभामा घाइते भएकी वडा नम्बर ७ की परिषद् तथा न्यायिक समिति सदस्यसमेत रहेकी लक्ष्मी सुब्बामाथि वडानम्बर १ का सदस्यद्वय महावीर(रञ्जीत) लिम्बू र उमाशङ्कर गणेशले हातपात गरी घाइते पारेको उनीहरूले दाबी गरेका छन् । घाइतेको कन्चटमा चोट लागेको छ । लिम्बू र गणेशलाई स्थानीय तह सञ्चालन कार्यविधिअनुसार अविलम्ब कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष अन्जरा आलमलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

उद्घाटन सत्र चलिरहेको समयमा परिषद् सदस्यले अश्लील शब्द प्रयोग गरी दादागिरी शैलीमा अध्यक्षले बोल्दै गरेको माइक खोस्ने, लात्तले हान्ने, टेबुल, कुर्सी फुटाउने लगायतको हर्कतप्रति ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । गाउँपरिषद् बिथोल्ने, महिलामाथि हातपात गर्ने व्यक्तिलाई कडा कारबाही गरिनु पर्ने उनीहरूको माग छ । साथै पत्रमा गाउँपालिकाको नीति नियम र प्रक्रिया पूरा गरी गरेका दीर्घकालीन योजनाहरू कसैको दबाव र धम्कीमा नडराई काम गर्नसमेत उल्लेख गरिएको छ । माग सुनुवाइ नभएमा चरणबद्ध आन्दोलनमा उत्रिने ज्ञापन–पत्रमा जनाइएको छ । ज्ञापन–पत्र बुझ्दै अध्यक्ष आलमले सभा बिथोल्ने कार्य नराम्रो भएकोले यसको छानविन गरी दोषीलाई कारबाही गरिने जनाए । त्यसैगरी प्रदर्शनकारीहरू नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय बनियानी पुगेका थिए । सभामा घाइते भएकी सदस्य सुब्बाले लिम्बू र गणेशलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । जाहेरी पत्र जिल्ला प्रहरी कार्यालय झापा पठाइएको बनियानीका सइ उदयशमशेर राणाले जानकारी दिए ।

गाउँपालिका अध्यक्षले एकलौटी रूपमा बजेट बनाएर पारित गर्न लागेको भन्दै विपक्षमा रहेका नेपाली काङ्ग्रेस, नेकपाले विरोध जनाउँदै आएका छन् । बजारमा रहेको गाउँपालिकालाई अध्यक्ष लगायतले साविकको बालुवाडी गाविस हाल कचनकवल–७ मा सुशील अग्रवालले दिएको १५ कठ्ठा जग्गामा गाउँपालिका सार्न लागेको निर्णय सच्याउनु पर्ने उनीहरूको माग छ । गाउँपालिकामा ३८ जनामध्ये २४ जना पक्षमा रहेकोले बहुमत देखिएको छ । विरोध आएपछि वार्ताबाट समाधान खोजे पनि सफल हुन नसकेको अध्यक्ष आलमको भनाइ छ । आर्थिक वर्ष ०७४/७५ को गाउँसभाले पारित गरिसकेको निर्णय उल्टाउन नमिल्ने उनले जनाए । मैले एक्लैले पारित नगरेको उनले बताए । विरोधका बावजुद गाउँपालिकाको दोस्रो गाउँसभाले चालु आर्थिक वर्ष ०७५/७६ को लागि ५१ करोड ४० लाख ७८ हजार बराबरको बजेट मङ्गलबार सार्वजनिक गरिसकेको छ । गाउँपालिकाका केही परिषद् सदस्यहरूको विरोधका बावजुद मङ्गलबार बसेको बन्द सत्रले बजेट पारित गरेको थियो । यता असन्तुष्ट पक्षले भने कानूनी कारबाहीमा जाने बताउँदै आएका छन् ।