इटहरी/ इटहरी उपमहानगरपालिकाले सार्वजनिक, ऐलानी जग्गा खोजी अभियान तीव्र बनाउने भएको छ । इटहरी उपमहानगरमा रहेका सार्वजनिक, ऐलानी जग्गा खोज्ने अभियान तीव्र बनाउने निर्णय गरेको हो । बुधबार बसेको बैठकले जग्गा खोज्ने अभियानलाई निरन्तरता दिने जनाएको छ । जग्गा खोज्ने समितिका संयोजक वडानम्बर १३ का अध्यक्ष शिवनारायण चौधरीले केही समयदेखि रोकिएको जग्गा खोज्ने अभियान पुनः शुरु भएको जनाएका छन् । नगरका सबै वडाका नक्सा ल्याउन नापी कार्यालय जाने संयोजक चौधरीले बताए । ‘नक्सा प्राप्त भएपछि प्राविधिकसहित प्रत्येक वडामा पुगेर अनुगमन गरिनेछ’– उनले भने । समिति गत वैशाखमै बनेको भए पनि जग्गा खोज्ने अभियान शुरु भएको थिएन । कँहा कति छ ऐलानी जग्गा ? इटहरी उपमहानगरपालिकाका इञ्जिनियर विकास भट्टराईको संयोजकत्वमा बनेको ऐलानी जग्गा खोज्ने समितिले इटहरीमा ९ सय ९५ बिगाहा ६ कठ्ठा डेढधुर जग्गा ऐलानी छ भनेको थियो । साविकको इटहरीमा २ सय ३० बिगाहा ७ धुर, खनारमा ३ सय २६ बिगाहा १९ कठ्ठा ११ धुर, एकम्बामा १ सय ७३ बिगाहा १६ कठ्ठा ११ धुर, पकलीमा १ सय २२ बिगाहा ६ कठ्ठा ५ धुर र हाँसपोसामा १ सय ४१ बिगाहा १५ कठ्ठा १५ धुर जग्गा रहेको छ ।