धरान/ उपत्यका बाहिर नेवारी भाषाको पाठयक्रमलाई लागू गराउन पहल थाल्ने प्रदेश एककी सांसद् सावित्री श्रेष्ठले बताएकी छन् ।
नेवाः देयः दवूः केन्द्रीय समितिद्वारा बिहीबार धरानमा आयोजित ‘प्रदेश १ नम्बरका पदाधिकारीको पदस्थापना तथा शुभकामना’ कार्यक्रममा उनले नेवारी भाषालाई जीवित राख्न पनि पाठ्यक्रम लागू हुनुपर्ने बताइन् । उनले भनिन्, ‘नेवारी भाषाको पाठ्यक्रम कसरी घुसाउने भन्ने सबैले सोच्न आवश्यक छ ।’ उनले आफू नीति निर्माण तहमा भएकाले संस्थागत रूपमा आए ‘लविङ’ गर्ने बताइन् । ‘सोच्नेभन्दा पनि गर्ने बेला आएको छ । तपाईंहरू प्रस्ताव ल्याउनुस् म पहल गर्छु ।’ उनले भनिन् । दवू केन्द्रीय समिति उपाध्यक्ष एवम् प्रदेश १ इन्चार्ज कृष्ण उदासले नेवार भनेर मात्रै नहुने त्यसका लागि भाषा, संस्कार र संस्कृतिलाई पनि जीवित राख्नुपर्ने बताए । उनले नेवारी भाषालाई पाठ्यक्रममा लागू गरे मात्रै सबै नेवारका बच्चाबच्चीले सिक्ने बताए । अहिले काठमाडौंमा मात्रै त्यो सुविधा रहेकाले त्यसलाई प्रादेशिक स्तरमा लिएर जानुपर्ने बताए ।
प्रदेश १ का प्रमुख डा. गोविन्द तुम्बाहाङले संविधानमै भाषा, संस्कृतिको विकास गर्ने भनेर उल्लेखित गरिएकाले त्यसका लागि पहल गर्न जरूरी रहेको बताए । दवूःको प्रदेश १ का निर्वाचित संयोजक सोमबहादुर श्रेष्ठ, सह संयोजकद्वय इनद्रबहादुर श्रेष्ठ, सीताराम श्रेष्ठ, सचिव रविन्द्रकृष्ण श्रेष्ठ र कोषाध्यक्ष चन्द्रा हलुवाईसहितका २७ सदस्यीय पदाधिकारीहरूलाई पदस्थापन गराइएको छ । पदस्थापनका क्रममा उनीहरूलाई प्रमाण(पत्रसमेत प्रदान गरिएको कार्यक्रम सञ्चालक अनिल मास्केले जानकारी दिए ।