धरान/ संस्थागत तथा निजी स्कुलहरू नियम सङ्गत रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) ले प्रदेश १ का सामाजिक विकास मन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ ।सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई बुधबार १० सूत्रीय माग राख्दै इष्टुले ज्ञापन–पत्र बुझाएको हो ।  इष्टुका प्रदेश १ सचिवालयका संयोजक रोहिणीरमण दवाडी, इष्टु झापा अध्यक्ष होम खतिवडा, मोरङ अध्यक्ष मनोज खनाल र सुनसरी अध्यक्ष विजय अछामीले संयुक्त रूपमा ज्ञापन बुझाएका थिए । इष्टुले निजी स्कुल संस्थागत रूपमा चल्नु पर्ने हो या होइन्, कानूनले तोकेको शर्त नियम लागू गर्नुपर्छ कि पर्दैन लगायतका प्रश्न राख्दै ज्ञापन –पत्र बुझाएको छ ।  इष्टुले प्रदेश र पालिकास्तरको शिक्षा समितिमा इष्टुको अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने मागसमेत गरेको छ । त्यस्तै शैक्षिक तालिम, गोष्ठी, सभालगायतका इष्टुको प्रतिनिधित्व गराउनु पर्ने सुनसरी अध्यक्ष अछामीले बताए । निजी विद्यालयमा पनि नियमानुसार व्यवस्थापन समिति गठन गर्न लगाउनु पर्नेलगायतका शर्तहरू अघि सारेको छ ।