पथरीशनिश्चरे । उत्तरपूर्वी मोरङको पहाडी क्षेत्रसहितका अन्य पहाडी जिल्लाबासीको यातायात सहजता एवम् व्यवसायिक प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमध्येको पथरी –जाँते–ज्यामिरे सडक चाँडो निर्माण गर्नुपर्ने ठहर गर्दै सांसद सहितको टोलीले अवलोकन गरेको छ ।
स्थानीयबासीले नीकै दुःख गरेर खनेर बनाएको सडकमा यो वर्ष प्रदेश सरकारबाट ३ करोड रुपैयाँ छुट्टिएपछि सो भेगका मानिस केही उत्साहित देखिएका छन् । तर वर्षाको समयमा विभिन्न ठाउँमा सडक भाँसिएपछि स्थानीयमा समस्या देखिएको छ ।
ग्राभेलिङ नहुँदा वर्षाको समयमा ज्यामिरे खण्डमा भनें यातायात सञ्चालनमा झन समस्या छ । भासिएको र भत्किएको ठाउँमा लेटाङ र पथरीशनिश्चरे नगरपालिका कार्यालयले मर्मतको काम अघि बढाएको छ । लेटाङको जाँते निवासी १ नम्वर प्रदेशका सांसद उपेन्द्र घिमिरे सहित पथरीशनिश्चरे र लेटाङ नगरपालिकाका जनप्रतिनिधि एवम् प्राविधिकहरुले सो सडक यसबेला हिलाम्मे भएर आवत जावतमा समस्या भएको अवस्था बिहीबार अवलोकन गरेका छन् । घिमिरेले लेटाङ नगरपालिकाले तत्कालका लागि गिट्टी हाल्ने काम थालेको सुनाए ।
सो सडकको अवलोकन गर्न पुगेका पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले पनि आफ्नो नगरपालिकाका तर्फबाट मर्मत सम्हार गर्ने बताए । तर यसको दिगो व्यवस्थापनका लागि प्रदेश सरकारबाट छुट्टिएको बजेटलाई कार्यान्वयनमा ल्याइहाल्न माग समेत गरे । पहिले भएको ग्राभेलिङ भासिदै गएको अवस्थामा ग्रेडर समेत लगाएर पुन ग्राभेलिङ गर्दै कालोपत्रे गर्नुपर्ने आवश्यकता रहेको लेटाङ ९ का वडाध्यक्ष कृष्ण लुइटेलले औल्याए ।
लेटाङ ९ जाँतेका सामाजिक अगुवा सोमनाथ निरौलाले पहाही क्षेत्रबाट तराई जोड्ने छोटो र पुल हाल्नु नपर्ने अवस्थाको ज्यामिरेसम्मको साढे १८ किलोमिटर लम्वाईको सो सडक निर्माणले आफ्नो क्षेत्रको भविष्य नै निर्माण हुने बताए । उत्तरदक्षिणका अन्य क्षेत्रको सडकहरु भन्दा यहाँको माटो कम पहिरो जानेखालको दर्विलो रहेको निरौलाले जनाए । उनले थपे ‘यो बाटोको उत्तरी क्षेत्रलाई थप व्यवस्थित बनाउँदै कालोपत्रे गर्न सके उत्तरी भेगको भविष्य निर्माण हुने र तल्लो भेगको व्यापार प्रवद्र्धनमा ठूलो टेवा पुग्ने छ ।’
सो सडक, ज्यामिरेबाट ६ नम्बर बुधबारेबाट धनकुटा तथा पाँचथर र इलामको सीमान चिसापानी पञ्चमी हुँदै रवि, राँकेबाट ताप्लेजुङ किमाथाङ्का जोड्ने सडकको पहुँचमा पुग्छ । पहाडी क्षेत्रमा उत्पादित कृषिजन्य सामग्री तराई झार्न र तराईबाट आवश्यक उपभोग्य सामग्री पहाड उकाल्नका लागि सो सडक महत्वपूर्ण छ । प्रदेश सरकारले बजेट छुट्याउनु अघि लेटाङ नगरपालिकाले सो सडकको कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेको थियो । जंगल बाहेकको क्षेत्रमा पक्का ड्रेन सहित कालोपत्रेका लागि २२ करोडको बजेट लाग्ने डीपीआरले देखाएको छ ।
सडकको इतिहास
पूर्वपश्चिम मुख्य सडक अन्तर्गत पथरीशनिश्चरे नगरपालिका १ स्थित पथरी बजार उत्तर जाँतेमोडबाट ज्यामिरेसम्म साढे १८ किलोमिटर लम्बाईको सडक हो यो । पथरी, लेटाङको जाँते, मिक्लाजुङ हुँदै धनकुटा नजिक चौविसे गाउँपालिकाको ६ नम्बर बुधबारे पुग्छ । ६ नम्बर बुधबारेबाट आउने तेर्साे सडक ज्यामिरेमा जोडिन्छ । ८ किलोमिटर ३ सय मिटर जंगल क्षेत्र हुँदै जाँतेसम्म १२ किलोमिटर र त्यसभन्दा माथि ज्यामिरेसम्म साढे ६ किलोमिटर लम्बाई रहेको छ ।
०५० मा हालका प्रदेश सांसद घिमिरे जाँते गाविस अध्यक्ष भएदेखि उनको पहलमा स्थानीयलाई जुटाएर बाटो खन्न थालिएको थियो । ०५१ सालमा केन्द्र सरकारले ३ लाख रकम दिएपछि जंगल क्षेत्रमा रुख, जरा निकाल्ने काम भयो । ०५२ मा गाविसले ५ लाख लगानी गरेर नाला खन्ने काम गरियो । ०५३/५४ र ०५४/५५ मा गाविसले ४/४ लाख छुट्यायो । त्यसमा तात्कालिन पथरी गाविसले १ लाख, जिल्ला विकास समितिले २ लाख गरेर ११ लाख बनाएर जाँतेको मदनचोक दक्षिण पथरीसम्म ग्राभेल गरिएको घिमिरेले बेलिबिस्तार लगाए । ग्राभेल भएपछि ०५५ वैशाख १ देखि जाँतेबाट पथरीसम्म बस र ट्याक्सी सञ्चालन सुरु भयो ।
०५५/५६ मा पुनः जाँते गाविसले ५ लाख लगाएर मदनचोक उत्तर गाविस कार्यालयसम्म ग्राभेल गर्ने काम भयो । जिविसबाट प्राप्त भएको ५ लाख रुपैयाँबाट ०५७ सालमा ज्यामिरेखण्डको सडक निर्माण थालेर ०५८ सम्पन्न भएको थियो । सो सडक मर्मतका लागि ०५६/५७ मा जिविसले १० लाख दियो । हालसम्म १ करोड हाराहारी रकम सो बाटोमा खर्च भइसकेको छ ।
पथरीबाट ६ नम्बर बुधबारेसम्म २० वटा हाराहारीमा ट्याक्सी सञ्चालन हुँदै आएका छन् । पथरीबाट जाँतेसम्म ६ वटा बस सञ्चालित छन् ।