इटहरी । हरित नगर इटहरीलाई संसारभर हातमै छर्लङ्ग देखाउने काम सुरु भएको छ । चार महिना भित्रमा इटहरी उपमहानगरको डिजिटल प्रोफाइल तयार गरि मोवाइल एप्स मार्फत नगरका सवै तथ्याँक राखिने भएको हो । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीका अनुसार डिजिटल प्रोफाइल र मोवाइल एप वनाउने प्रक्रिया सुरु भइसकेको छ । डिजिटल नगर प्रोफाइल र एप वनाउनका लागि कार्य योजना तथा तयारी वैठक सम्पन्न भएको छ मेयर चौधरीले भने । इटहरीको नगर प्रोफाइल मोवाइल एप्समा समेटिने छ । प्रोफाइलमा इटहरीका प्रत्येक घरको सम्पूर्ण जानकारी समेटिने छ । घरको पारिवारिक विवरण जसमा घरका सवै सदस्यको नामथर,जन्ममिति,जात,धर्म,मातृभाषा,शैक्षिक अवस्था,वसोवास घरमै हो कि वाहिर वसोवासको अवस्था,पेशा,वैवाहिक अवस्था,अपाङ्गताको अवस्था,शैक्षिक स्थिति हुने छ । यस्तै घरमूलीको सम्पर्क नम्वर,वालश्रमिक राखेको छ कि छैन,एक वर्ष भित्रमा कसैको निधन भएको छ भने के कारणले निधन भयो सो सहितको जानकारी,स्वास्थ्य र ब्यक्तिगत विमा गरिएको छ कि छैन ती सवै जानकारी समेटिने उपमहानगरपालिकाले जनाएको छ । नगरप्रोफाइलमा नगरपालिकाको चिनारी,जनसँख्याको सवै पक्ष समेटिएको विस्तृत जानकारी,आर्थिक विवरण,भू उपयोग तथा स्वामित्वको अवस्था,कृषि तथा पशु विकासकोअवस्था,पर्यटन,औद्योगिक विकास,सहकारी,ब्यापार तथा ब्यवसाय सम्वन्धि जानकारी समेटिने छ । नगर प्रोफाइल किन ? इटहरीका मेयर द्वारिकलाल चौधरी नगर प्रोफाइल इटहरीको विकास र सम्वृद्धिका लागि पहिलो खुडकिलो हुने वताउनुहुन्छ । इटहरीलाई कस्तो वनाउने रणनीतिक योजना वनाउन नगर प्रोफाइल नभइ नहुने उहाँको भनाई छ ।