पानवारी । एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको राजधानी तोक्ने विषय र नामाकरणको विषयमा आन्तरिक छलफल सुरु भएको बताएका छन् ।
भण्डारीले शनिबार साकेला बनस्पती उद्यान व्यवस्थापन समिति धरानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशको राजधानी र नाम बारे आन्तरिक छलफल सुरु भएको बताएका हुन् । उनले प्रदेश सभामा भएका दलहरुबीच संवाद सुरु भएको बताएका छन् । उनले भने –‘राजधानी र नामको विषयमा कम्तिमा प्रदेशका दुई तिहाइ सदस्यले निर्णय गर्नुपर्छ, त्यसका लागी म पनि प्रदेशका सदस्यहरुसँग संवाद, सहकार्य र गृहकार्यमा लागेको छु ।’
सरकारले पनि संसदमा रहेका दलहरुसँग त्यस विषयमा छफलफल थालेको र चाडै नै सदनमा उक्त विषयले प्रवेश पाउने भण्डारीले बताए । उनले प्रदेशको राजधानी धनकुटा, धरान, इटहरी, गोठगाँउ र विराटनगरले आ–आफ्नै दाबी प्रस्तुत गरिरहेको बताए । त्यस्तै गरी प्रदेशको नामको सन्दर्भमा पनि सगरमाथा, कोशी, लिम्बुवान, किरात र खम्बुवान जस्ता नाम हुनुपर्छ भनेर धेरैले ज्ञापन पत्र बुझाएको बताएका छन् ।