पानवारी । इलाका प्रहरी कार्यालय परिसरमा निर्माण हुँदै गरेको हिरासत भवनको डिजाइन परिवर्तन गरिएको छ ।
शनिबार इलाका प्रहरी कार्यालय हिरासत भवन निर्माण समितिले पत्रकार सम्मेलन गरी लागत रकम घटाउन डिजाइनमा परिवर्तन गरेको बताएको छ । ४ हजार बर्गफिटमा बन्ने दुई तले पक्कि भवनको लागत इस्टीमेट करिब ४ करोड हुने भनी समितिले भवन शिलान्यास कार्यक्रममा सार्वजनिक गरेको थियो । तर भवनको निर्माण लागत एकदमै धेरै भएको भनेर चर्चा चलेपछि समितिले भवनको डिजाइन समेत परिवर्तन गरी लागत घटाएको समितिका अध्यक्ष मिनकुमार सुब्बाले बताए । सुब्बाले भने –‘शिलान्यास कार्यक्रममा नै भवनको लागत तथा डिजाइन नै महंगो भयो भन्ने सुझाव आएपछि भवनको डिजाइन नै परिवर्तन गरी लागत समेत घटाएका हौ ।’
भवनको डिजाइन तयार गरेका इन्जिनियर केबल परियारले भने –‘भवनको डिजाइन गर्दा पहिले म्याट फाउण्डेशन सहितको डिजाइन थियो, पछि त्यो आवश्यक नभएको र खर्च समेत बढी हुने भन्ने भएपछि म्याट फाउण्डेशन हटाइयो ।’ भवन निर्माण कार्य धमाधम भइरहेको भन्दै एक वर्षभित्र भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिसकिने योजना रहेको अध्यक्ष सुब्बाले बताए । अहिले भवनको जग निर्माणको कार्य पुरा भएको र टाइबिमको काम सुरु भएको त्यस्तै सेफ्टी ट्याङ्कीको काम धमाधम भइरहेको समेत जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।
अहिलेसम्म नगद रु १९ लाख ३७ हजार तीनसय तेइस रुपैया संकलन भइसकेको र निर्माण कार्यमा २१ लाख ६ हजार खर्च भइसकेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा भवनको लागत अनुमान विवरण सार्वजनिक गरिएको थियो । जसमा एक तला भवन निर्माण गर्न १ करोड ७५ लाख ९३ हजार र अढाई तला निर्माण गरी सक्दा २ करोड ७८ लाख १० हजार ६ सय उन्नाइस रुपैया खर्च हुने अनुमान निर्माण समितिले सार्वजनिक गरेको हो । फोटो पनि छ ।