धरान/ सुनसरीको हरिनगरमा भारतीय अपराधिको गोली लागी स्थानीय एमाले नेता तथा स्थानीय शिक्षासेवी मौलाना खुर्सिद आलम अन्सारीको मृत्यु भएपछि हरिनगर शोकमा डुबेको छ ।
स्थानीयले अन्सारीको मृत्युपछि सडकमा आगो बालेका छन् । स्थानीयले नेपाली भूमिमा दिउँसै हत्या हुनु असुरक्षाको पराकाष्ठा भएको प्रतिक्रिया दिएका छन् ।
केही समयको अन्तरालमा मुस्लिम समुदायका अगुवा वा धार्मिक गुरुहरूमाथि श्रृङखलाबद्ध यस्ता घटना घट्नुले केही गहिरो अनि विशेष कुराको सङ्केत गर्ने नसीमराज अन्सारीले टिप्पणी गरेका छन् ।
राज्यले दोषी पत्ता लगाएर सार्वजनिक गर्ने कुरामा कमजोर देखिँदै आएको स्थानीयको आरोप छ । सो क्षेत्र मुस्लिम बाहुल्य क्षेत्र हो । स्थानीयले धार्मिक गुरु र अगुवाले सधैँ असुरक्षित महशुस गरिरहेको बताएका छन् ।
घटनाको विरोधमा आक्रोशित स्थानीयले सडकमा प्रदर्शन गर्दै जतिसक्दो छिटो दोषी पत्ता लगाउन माग गरेका छन् । साविकको भुटाहा वडा नम्बर–४ हाल हरिनगर गाउँपालिका वडा नम्बर–२ भुटाहा बस्ने स्थानीय नेकपा एमालेका नेता खुर्सिद आलम अन्सारीलाई बिहान ११ः १५ बजे तीन राउण्ड गोली प्रहार भएको थियो ।
गोली लागी अन्सारीको घटना स्थलमै मृत्यु भएको हो । अन्सारीको टाउको, छाती र हातमा गोली लागेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार ११ः१५ बजेको समय भारतीय नम्बर प्लेटका दुई मोटरसाइकलमा सवार भई आएका चारजनाले अन्सारी माथि गोली प्रहार गरेका थिए । भारतीय नम्बर प्लेटको एउटा मोटर साइकलमा नम्बर प्लेट नरहेको स्थानीयको भनाइ छ ।
अन्सारीलाई गोली हानी भाग्ने क्रममा घुस्की प्रहरी चौकीका प्रहरी हवल्दार शिवलाल पौडेल माथिसमेत चार राउण्ड गोली प्रहार भएको छ । उनलाई दुई राउण्ड गोली लागेको बताइएको छ । प्रहरी हवल्दार पौडेल गम्भीर घाइते भएका छन् । पौडेललाई कमर र खुट्टामा गोली लागेको अस्पताल स्रोतले जनाएको छ । हाल उनको अवस्था खतरामूक्त रहेको बताइएको छ ।
नेपाल–भारत सीमामा कडाइ गरी घटनाको थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ । नेपाल प्रहरीले भारतीय प्रहरीको समन्वयमा अपराधि खोजी गर्ने काम गरिरहेको बताएको छ ।
तस्बिरहरूः नसीमराज अन्सारी