वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकामा अनलाइनका माध्यमबाट घटना दर्ता शुरु भएको छ । नगरपालिकाको वडा नं. १० र ११ ले डिजिटल दर्ता प्रक्रिया शुरु गरेका छन् ।

बिहीबार नगरपालिकाको वडा नं. ११ मा औपचारिक कार्यक्रम गर्दै सेवाग्राहीको अनलाइनमार्फत् घटना दर्ता गरी डिजिटल दर्ता प्रक्रियाको उद्घाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नगर उप–प्रमुख कमला मगरले हातले लेखेर दिँदै आएको चलन अब विस्तारै प्रविधिले विस्थापित गरेको बताइन् । प्रविधिका कारण समाजले थुप्रै उपलब्धी हासिल गरेको उनले बताइन् । ‘प्रविधिको विकासबाट प्राप्त उपलब्धीलाई नगरपालिकाले पनि संस्थागत गर्छ ।’ उप–प्रमुख मगरले भनिन् ।

घटना दर्ता प्रक्रिया हाल सफ्टवेयरको माध्यमबाट भइरहेकाले आगामी दिनमा आफ्नो व्यक्तिगत विवरण सेवाग्राहीले अनलाइनमार्फत हेर्ने गरी योजना अघि सारिएको नगरपालिकाका सूचना अधिकृत इञ्जिनियर पुकार पोख्रेलले जानकारी दिए ।

वराहक्षेत्र–११ का वडा अध्यक्ष केदार विष्टले आफ्नो वडाले विधिवत् रूपमा अनलाइन घटना दर्ता शुरु गरेको बताउँदा आफैं गौरवान्वित महसूस गरेको बताए । पञ्जीकरणलगायत सामाजिक सुरक्षा भत्ताबारे विवरण पनि डिजिटलाइज्ड गरेकाले सामाजिक सुरक्षा भत्तामा देखिने भ्रष्टाचारका समस्या समाप्त हुने वडाध्यक्ष विष्टको विश्वास छ ।

आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले व्यक्तिगत घटना दर्ता र यसको औचित्यमाथि प्रकाश पारेका थिए ।