पाँचथर/कुम्मायक गाउँपालिका–१ पाँचथरका खेम निरौला दुई दशकअघिको दशैं सम्झन्छन्–दशैं शुरु हुन महिनादिन अघिदेखि चहल–पहल शुरु हुन्थ्यो, सांस्कृतिक कार्यक्रम गर्ने, पिङ रोप्ने, बाटोघाटो, धारा–कुवा, पाटी–पौवा सरसफाइ गर्ने विषयमा गाउँका युवाहरूबीच सरसल्लाह हुन्थ्यो, घरआँगन चट्ट बनाउन छरछिमेकका महिलाबीच प्रतिस्पर्धा नै चल्थ्यो, बारीमा पाक्दै गरेको कोदो र खेतमा झुल्न थालेका धानका बालाले दशैं बोलाइरहेका हुन्थे, दशैँ शुरु नै नभई पुरै गाउँघर दशैँमय बन्थ्यो ।
तर खेमलाई दुई दशकअघिको त्यो दशैँ अहिले सपनाजस्तै लाग्छ ।
किनभने दशैँको त्यो उमङ्ग र उत्साह अहिले छैन ।
गाउँ युवाविहीन बनेको छ । गाउँका युवा रोजगारीको सिलसिलामा खाडी र अन्य मुलुक पुगेका छन् ।
युवा बिनाको दशैंले चमक गुमाउँदै लगेको छ । वृद्धवृद्धा विगत सम्झेर सुस्केरा हाल्छन् ।
गाउँ रुँगेर बसेका एक–दुई युवाले यो सब गर्ने आँट गर्न छाडेका छन् ।
खेम भन्छन्, ‘वास्तवमा दशैँ, दशैँ मात्र नभएर युवाहरूलाई सङ्गठित गराउने र सामाजिक कार्यमा अग्रसर गराउने माध्यम पनि थियो, तर उतिबेलाको दशैँ अब एकादेशको कथाजस्तै बनेको छ ।
शास्त्रीय मान्यता अनुसार आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको मिथकलाई स्मरण गर्दै दशैँ मानिदै आएको छ ।
यद्यपि पारिवारिक मिलन, आफन्तजन र साथीभाइसँग भेटघाट गर्ने, रमाउने, आपसमा सद्भाव र सहिष्णुता विनियम गर्ने अनि सामाजिक हितका लागि रचनात्मक काम गर्ने पर्वको रूपमा पनि लिइन्छ दशैँलाई र थियो पनि त्यस्तै ।
तर अहिले आएर यस्ता कुराहरू ओझेलमा पर्दै गएकोप्रति चिन्ता व्यक्त गर्छन्, पाँचथर बहुमुखी क्याम्पसका सह–प्राध्यापक लक्ष्मी ढुङ्गाना ।
यसको प्रमुख कारण युवाशक्ति मुलुकबाट पलायन हुनु हो भन्छन् ढुङ्गाना । वैदेशिक रोजगार र त्यसले हुर्काएको चरम व्यक्तिवादी सोचले दशैँ मात्र नभएर हाम्रा सबै मौलिकतामाथि प्रहार गरिरहेको उनको ठम्याइ छ ।
युवाशक्तिलाई राज्यले स्वदेशमै रोक्न नसक्दा विदेश पलायन हुनेको संख्या बढ्दो छ ।
गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयबाट चार हजार ५ सय १९ जनाले राहदानी लिएका थिए ।
चालु आर्थिक वर्षको अहिलेसम्ममा ५ सय ९८ जनाले लिइसकेका छन् । दिनमा आठदेखि दशजना राहदानीका लागि निवेदन लिएर आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेत बताउँछन् ।
यसले के देखाउँछ भने उमेर पुगेका युवा गाउँमा बस्दैनन् । जसले दशैंलाई रङ्हीन बनाउन सघाइरहेको छ ।
दशैंको रौनक घट्न’मा आदिवासी जनजाति सम’दायले पहिलेजस्तो महत्व दिएर दशैँ नमान्न’ पनि एक हो भन्छन् किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिका मुख्य सचिव मधु केरुङ ।
दश वर्षे सशस्त्र द्वन्द्व र ०६२/६३ को जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनसँगै पहिचानको कुरा खरो रूपमा उठ्न थाल्यो ।
पहिले दशैंलाई विशेष महत्व दिएर मनाउने आदिवासी जनजाति समुदायले विस्तारै दशैंलाई कम महत्व दिन थाले ।
उनीहरू आफ्नो मौलिक चाडपर्वहरूको पुनर्जागरणमा लागेकैले पनि दशैं पहिलेजस्तो उल्लासमय बन्न छाडेको केरुङको विचार छ ।
उनले भने, ‘तर, यसो भन्दैमा दशैंलाई बहिष्कार नै गर्ने भन्ने होइन, सबै जाति, सम्प्रदायको चाडपर्वलाई उत्तिकै सम्मान गर्नुपर्छ, सद्भाव र सहिष्णुताको लागि हामी पनि आफ्नै तरिकाले दशैँ मनाउँछौँ, भलै हिजोजस्तो ऋण काढेरै भए पनि राँगा नै ढाल्ने गरी चाहिँ होइन ।’
डेढ दशक अघिसम्म जिल्लाको अधिकांश स्थानमा दशैं विशेष खेलकुद, सांस्कृतिकलगायत अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुन्थे ।
लिङ्गे पिङ त टोलैपिच्छे रोपिन्थ्यो । चङ्गा चेट गरेर आनन्द लिने कति हुन्थे कति, पैदलमार्ग, धारा–कुवा, पाटी–पौवा, चौतारा, मठमन्दिर जस्ता सार्वजनिकस्थल विशेष किसिमले सिँगारिन्थे ।
तर अहिले जिल्लामा यस्तो गतिविधि देख्नै मुस्किल छ । यस्ता सामाजिक काम गर्नलाई त कुरै छाडौं लिङ्गे पिङ रोप्नलाई लठारो बाट्ने र लिङ्गो नुहाउने युवा नै गाउँमा नभएको फिदिम नगरपालिका–५ चोक्मागुका देवेन्द्र ढुङ्गेलले बताए ।
दशैं सबै जाति, सम्प्रदायबीचमा सद्भाव कायम गर्ने र सामुहिक भावनामा जोड्ने पर्व भएकाले यसप्रतिको उत्साह र उमङ्गलाई फर्काउन जुट्नुपर्ने सह–प्राध्यापक ढुङ्गानाको जोड छ ।