मौसम परिवर्तनसँगै बालबालिकामा विभिन्न भाइरल सङ्क्रमणहरू बढ्ने गर्दछन् । विशेषगरी वर्षायाम र जाडो सुरु हुने समयमा इन्फ्लुएन्जा (फ्लू) को सङ्क्रमण उल्लेखनीय रूपमा बढ्ने गरेको पाइन्छ । धेरै अभिभावकले फ्लूलाई सामान्य रुघाखोकी सम्झेर बेवास्ता गर्ने गर्छन् । तर विशेषगरी पाँच वर्षमुनिका बालबालिका, दीर्घरोग भएका बालबालिका तथा कमजोर प्रतिरक्षा प्रणाली भएकाहरूमा इन्फ्लुएन्जा गम्भीर बन्न सक्छ । त्यसैले समयमै रोगको पहिचान, उचित उपचार र प्रभावकारी रोकथाम अत्यन्त आवश्यक छ ।

इन्फ्लुएन्जा के हो ?
इन्फ्लुएन्जा भाइरसबाट हुने एक तीव्र श्वास–प्रश्वाससम्बन्धी सङ्क्रामक रोग हो । यसले मुख्य रूपमा नाक, घाँटी र फोक्सोमा असर गर्छ । सामान्य रुघाखोकीभन्दा फ्लूले बढी ज्वरो, शरीर दुख्ने, कमजोरी र श्वास–प्रश्वाससम्बन्धी जटिलता निम्त्याउन सक्छ । केही अवस्थामा यसले निमोनिया, कानको सङ्क्रमण, दम भएका बालबालिकामा रोग बढाउने तथा अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि सिर्जना गर्न सक्छ ।

किन बालबालिका बढी जोखिममा हुन्छन् ?
बालबालिकाको प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकसित भइसकेको हुँदैन । विद्यालय, डे–केयर, खेल मैदान तथा भीडभाड हुने स्थानमा उनीहरू एकअर्कासँग नजिक सम्पर्कमा रहने भएकाले भाइरस सजिलै फैलिन्छ । धेरै पटक सङ्क्रमित बालबालिकामा सुरुवाती लक्षण नदेखिँदै पनि अरूलाई सर्न सक्छ ।

इन्फ्लुएन्जाका प्रमुख लक्षण
–अचानक सुरु हुने उच्च ज्वरो
–खोकी
–घाँटी दुख्ने
–नाक बन्द हुने वा सिँगान बग्ने
–शरीर तथा मांसपेशी दुख्ने
–टाउको दुख्ने
–अत्यधिक थकान र कमजोरी
–भोक कम लाग्ने
–साना बालबालिकामा वान्ता वा पखाला

धेरैजसो बालबालिकामा यी लक्षणहरू ५–७ दिनसम्म रहन सक्छन् भने खोकी र कमजोरी केही समय थप रहन सक्छ ।

सङ्क्रमण कसरी फैलिन्छ ?
सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा वा बोल्दा निस्कने स–साना थोपाबाट भाइरस अर्को व्यक्तिमा सर्छ । भाइरस लागेको ढोका, टेबल, खेलौना वा अन्य सतह छोएर त्यसपछि मुख, नाक वा आँखा छोए पनि सङ्क्रमण हुन सक्छ । त्यसैले व्यक्तिगत सरसफाइको विशेष महत्व हुन्छ ।

घरमै के–कस्ता हेरचाह गर्नुपर्छ ?
धेरैजसो फ्लू भएका बालबालिकाको उपचार घरमै गर्न सकिन्छ ।
–प्रशस्त आराम गराउनुहोस् ।
–पर्याप्त पानी, झोल पदार्थ, झोलिलो खाना र स्तनपान गराइरहनुहोस् ।
–हल्का तथा पोषणयुक्त खाना दिनुहोस् ।
–ज्वरो आएमा चिकित्सकको सल्लाहअनुसार प्यारासिटामोल प्रयोग गर्न सकिन्छ ।
–चिकित्सकको सल्लाहविना एन्टिबायोटिक प्रयोग नगर्नुहोस्, किनकि फ्लू भाइरसबाट हुने रोग हो ।
कहिले तुरुन्त अस्पताल जानुपर्छ ?

निम्नमध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्त चिकित्सक वा अस्पतालमा सम्पर्क गर्नुहोस्—
–सास फेर्न गाह्रो भएमा
–छाती भित्र धस्सिने गरी सास फेर्नुपर्ने भएमा
–ओठ वा अनुहार निलो देखिएमा
–लगातार उच्च ज्वरो आएमा
–बच्चा अत्यधिक सुस्त वा प्रतिक्रिया नदिने भएमा
–पटक–पटक वान्ता हुने गरेमा
–पानी वा दूधसमेत खान नसक्ने भएमा
–शरीरमा पानीको कमी भएमा
–झट्का (दौरा) पर्ने गरेमा
यी लक्षणहरू गम्भीर सङ्क्रमणका सङ्केत हुन सक्छन् ।

रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय
इन्फ्लुएन्जाबाट बच्न निम्न उपायहरू अपनाउनु आवश्यक छ—
–साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म नियमित हात धुने ।
–खोक्दा वा हाछ्युँ गर्दा मुख र नाक छोप्ने ।
–बिरामी व्यक्तिसँग अनावश्यक सम्पर्क नगर्ने ।
–घर तथा विद्यालयको सरसफाइमा ध्यान दिने ।
–पोषणयुक्त आहार र पर्याप्त निन्द्राको व्यवस्था गर्ने ।
–भीडभाड भएका स्थानमा आवश्यक सावधानी अपनाउने ।
–चिकित्सकको सल्लाहअनुसार वार्षिक इन्फ्लुएन्जा (फ्लू) विरुद्धको खोप लगाउने ।

फ्लूको खोप किन आवश्यक छ ?
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) र विभिन्न बालरोग संस्थाहरूले जोखिम समूहका बालबालिकालाई प्रत्येक वर्ष फ्लूको खोप लगाउन सिफारिस गरेका छन् । खोपले सङ्क्रमण पूर्णरूपमा रोक्न नसके पनि गम्भीर बिरामी हुने, अस्पताल भर्ना हुने तथा जटिलता हुने जोखिमलाई उल्लेखनीय रूपमा घटाउँछ ।

अभिभावकका लागि सन्देश
बदलिँदो मौसममा बालबालिकालाई स्वस्थ राख्न अभिभावकको भूमिका सबैभन्दा महŒवपूर्ण हुन्छ । सामान्य रुघाखोकी र फ्लूबीचको फरक बुझ्नु, समयमै चिकित्सकको सल्लाह लिनु तथा अनावश्यक औषधि प्रयोग नगर्नु अत्यन्त आवश्यक छ । विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा ज्वरो वा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।

निष्कर्ष
इन्फ्लुएन्जा बालबालिकामा सामान्य देखिने तर कहिलेकाहीँ गम्भीर हुनसक्ने सङ्क्रमण हो । सही जानकारी, व्यक्तिगत सरसफाइ, सन्तुलित पोषण, पर्याप्त आराम, समयमै उपचार र वार्षिक फ्लू खोपमार्फत् यसबाट हुने अधिकांश जटिलता रोक्न सकिन्छ । सचेत अभिभावक, स्वस्थ बालबालिका र सुरक्षित समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक छ ।
(लेखक बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बालरोग विशेषज्ञ, एसोसिएट प्रोफेसर   तथा बालबालिकाको डाक्टर साथी पुस्तकका लेखकसमेत हुन् ।)