सबै कम्युनिष्ट पार्टीनिकट प्रगतिशील प्रगतिवादी कवि लेखक सर्जकहरूको छातासंस्था प्रगतिशील लेखक सङ्घ नेपालको १ नं. प्रदेशको प्रथम सम्मेलन चैत्र ९ गते धरानको गोर्खा डिपार्टमेण्ट सेण्टरको सभा हलमा सम्पन्न हुने भएको छ ।
प्रगतिशील लेखक सङ्घ १ नं. प्रदेश सम्मेलन आयोजक समितिको गत फागुन ४ गते इटहरीमा सम्पन्न बैठकले प्रथम प्रदेश सम्मेलन धरानमा गर्ने निर्णय गरेको केन्द्रीय उपाध्यक्ष एवम् सम्मेलन आयोजक समितिकी संयोजक मिश्र वैजयन्तीले बताएकी हुन् ।
बैठकले जिल्ला सम्मेलन हुन बाँकी प्रदेशका जिल्लाहरू सोलुखुम्बु र ओखलढुङ्गामा केन्द्रीय सदस्य चेतनाथ धमला राष्ट्रिय परिषद् सदस्य ओमप्रकाश घिमिरे अटल, क्रान्तिकारी भोजपुरका राष्ट्रिय परिषद् सदस्य केशव सुनाम, जमुना श्रेष्ठ, लोकराज निरौला, तेह्रथुम र धनकुटामा केन्द्रीय सदस्य लम्जेल सङ्घर्षशील र सुनसरी जिल्ला अध्यक्ष रामप्रसाद खरेललाई प्रदेश सम्मेलन अगाडि जिल्ला सम्मेलन गर्नका लागि जिम्मेवारी तोकेको छ ।
सम्मेलनमा १४ जिल्लाबाट १ सय ५० जना जति प्रतिनिधि सहभागी हुने सम्मेलन आयोजक समितिका सदस्य–सचिव लोकराज निरौलाले बताएका छन् । बैठकमा गत माघ ८ गते निधन भएका प्रगतिवादी कवि वेणु आचार्यको शोक प्रस्ताव पारित गर्नुका साथै १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।