धरान / नेकपाका बरिष्ठ नेता झलनाथ खनालले भावनात्मक रूपमा पार्टी एकीकरण हुन नसकेको आरोप लगाएका छन् ।
धरानमा आइतबार नेकपाका जिल्ला अगुवा नेता कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेता खनालले पार्टीका दुई अध्यक्षबीच मात्रै एकीकरण भएको आरोप लगाए । उनले पार्टी एकीकरणमा लामो समय लाग्दा कार्यकर्तामा निराशा छाएको टिप्पणी गरे । उनले एकीकरण प्रक्रियालाई चाडै टुङ्ग्याएर कार्यकर्तामा कार्यगत एकता र भावनात्मक एकता गर्नुपर्ने बताए ।
उनले केन्द्रीय सरकारले जुन हिसावमा गति लिनु पर्ने हो त्यो लिन नसकेकोप्रति चिन्ता ब्यक्त गरे । उनले गफ तथा हल्लाले मात्रै नहुने त्यसका लागि काम गरेर देखाउने समय आएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको घुमाउरो भाषामा आलोचना गरे । उनले पार्टीको मार्गदर्शक सिद्धान्तअनुरूप पनि सरकारले काम गर्न नसकेको टिप्पणी गरे ।
त्यस्तै पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज भीम आचार्यले पार्टी एकीकरण गर्दा अनुहारको आधारमा नभई योगदानको आधारमा गरिनुपर्ने तर्क गरे । उनले एकीकरणमा ढिलाइ हुँदा पार्टी कार्यकर्तामा फरक छाप पर्न गएको बताए । भेलामा पार्टीका जिल्ला नेता कार्यकर्ताको उपस्थिति थियो ।