पथरी/ पूर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका -७ लेटाङ मोडपूर्व भएको सवारी दुर्घटनामा शनिबार दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइँते भएका छन् ।
झापा अर्जुनधारा–४ बस्ने ४७ वर्षीय रामकुमार अछामीको घटनास्थलमै मृत्यु भएको छ भने झापा गौरादहका ४५ वर्षीय प्रकाश मगरको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा ज्यान गएको छ । गम्भीर घाइँते ५५ वर्षीय दुर्गा मगर र १४ वर्षीया पवित्रा मगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ । अन्य भने सामान्य उपचार गरी घर फर्किएको बताइएको छ ।

काठमाडौंबाट पूर्व जाँदै गरेको ना३ख ६९१८ नम्बरको कण्टेनरलाई ओभरटेक गर्ने क्रममा सोही दिशामा जाँदै गरेको बा११च ७९४८ नम्बरको टाटासुमोले ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर कमल बजगाईंले जानकारी दिए ।

दुवै सवारीका चालक भने सकुशल रहेको बताइएको छ । दुर्घटनामा परेका सवारी र सवारी चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । टाटासुमोमा ८ जना सवार रहेको प्रहरीको भनाइ छ । घटना शनिबार बिहान ५ बजे भएको बताइएको छ ।