धनकुटा । मुलुकको समस्या समाधान गर्न अहिले सहमति, सहकार्य र एकता आवश्यक रहेको बिहीबार धनकुटामा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
धनकुटामा शान्ति तथा क्रान्ति नायक गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसको अवसरमा आयोजना गरिएको गिरिजाप्रसाद कोइरालाको योगदान विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा १ नम्बर प्रदेशसभाका सांसद् लीला सुब्बाले मुलुकको समस्या समाधान गर्न र काङ्ग्रेसलाई सशक्त बनाउन गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोबाट मात्र सम्भव हुने बताए । उनले काङ्ग्रेसले गिरिजाप्रसाद कोइरालाले देखाएको बाटो हिँड्नुपर्नेमा जोड दिए । साथै, उनले अहिलेको राजनीतिक अवस्थामा सहमति, सहकार्य एकता आवश्यक रहेको पनि औंल्याए ।

नेपाली काङ्ग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काङ्ग्रेस धनकुटाका सचिव विजयसन्तोषी राई, जिल्ला सदस्यहरू विष्णु पौडेल, सीता श्रेष्ठ, खेम पौडेल, सुमना तिम्सिना, क्षेत्रीय सभापति जितेन्द्र राई, नेपाल महिला सङ्घका पूर्व केन्द्रीय सदस्य टीका भण्डारी, नेपाल शिक्षक सङ्घ १ नम्बर प्रदेश समितिका अर्थ महासचिव रामकुमारी भण्डारी, धनकुटा अध्यक्ष थिरेन्द्र सुब्बा, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, महालक्ष्मी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष यज्ञ चापागाई, साँगुरीगढी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष दीपक मगर, नेपाली काङ्ग्रेस धनकुटा नगरसमितिका उपसभापति मिलन खड्गीलगायतले शान्ति तथा क्रान्ति नायक गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको नीति अहिले सबैको लागि आवश्यक भएकोमा जोड दिँदै स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यसैगरी शान्ति तथा क्रान्ति नायक तथा पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन धनकुटाले पनि बिहीबार धनकुटा अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । सो अवसरमा धनकुटा अस्पतालका बिरामीहरूलाई १ नम्बर प्रदेश सभाका सदस्य लीला सुब्बा, नेपाली काङ्ग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, सचिव विजयसन्तोषी राई, फाउण्डेशन धनकुटाका कार्यवाहक अध्यक्ष राजेन्द्र पौडेललगायतले बिरामीहरूलाई फलफूल वितरण गरेका थिए । कार्यक्रम गिरिजाप्रसाद कोइराला फाउण्डेशन धनकुटाका कार्यवाहक अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।