सुनसरी/ शुक्रबार र शनिबार काठमाडौंमा हुने लगानी सम्मेलनमा इटहरीको पर्यटकीय स्थल तालतलैया पर्यटन प्रवद्र्धनको परियोजना प्रस्तुत हुँदैछ ।
लगानी सम्मेलनमा इटहरीको पर्यटकीय स्थल तालतलैयाको विकासका लागि ४१ मिलियन अमेरिकी डलरको परियोजना प्रस्ताव प्रस्तुत हुने भएको छ । ६ सय बढी विदेशी लगानीकर्ता र ३ सय बढी स्वदेशी लगानीकर्ताको जमघट हुने सम्मेलनमा प्रदेश–१ बाट पर्यटन विकासका लागि तालतलैया छनौट भएको हो । विदेशी लगानीकर्तासँग सिधै डिल गर्न पाउने मञ्च भएकाले निजी क्षेत्र पनि सम्मेलनप्रति सकारात्मक छ । सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरू प्रस्तुत गर्ने बताइएको छ ।
सम्मेलनमा ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुनेछन् । नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैर–आवसीय नेपाली तथा स्वदेशी लगानीकर्ताको सम्मेलनमा सहभागिता रहनेछ । लगानी प्रतिवद्धता आएपछि प्रक्रियामा जान्छ । दुई वा त्यसभन्दा बढी लगानीकर्ताले एउटै परियोजनामा लगानीको इच्छा देखाए अध्ययन गरेर सक्षम भए लगानीका लागि स्वीकृति दिनेछ भने नभए प्रस्ताव खारेज गर्नेछ ।
अहिले सम्मेलनमा राखिएका आयोजनाहरूको लागत अनुमानित मात्रै प्रस्तुत हुनेछन् । त्यस पछि डिपीआर तयार हुने छ । प्रदेश–१ का मुख्य मन्त्रीका प्रेस संयोजक ध्रुव सुवेदीका अनुसार लगानी सम्मेलनमा तालतलैया पर्यटन प्रवद्र्धनको परियोजनासहित तमोर जलाशय, एकीकृत कृषि परियोजना उर्लाबारी, विमान स्थलका योजना प्रस्तुत हुनेछन् । एक नम्बर प्रदेशबाट पर्यटनको क्षेत्रमा तालतलैया एकमात्र योजना परेको बताइएको छ । लगानीबोर्डमा प्रस्तुत हुने परियोजनामा इटहरी थिम पार्क विथ होटल नामको परियोजना प्रस्ताव प्रस्तुत गर्न लागिएकोे हो । ४१ मिलियन अमेरिकी डलरको सो परियोजनामा लगानीका लागि आह्वान गरिने छ ।
परियोजनामा बालबालिका तथा वयस्कका लागि स्र्पोटस पाराडाइससहितको पार्क रोलरकोष्टर, घोडचढी, स्विमिङपुल, बालबालिका र वयस्कका लागि पानीमा खेलिने खेलहरूसहित विभिन्न खेलहरू खेल्ने ठाउँको प्रस्ताव गरिएको छ । सम्मेलनबाट यो परियोजना पारित भए वा लगानीकर्ता लगानी गर्न इच्छुक भए तालतलैयामा क्यासिनोसहितको होटल, ढुँगे मूर्तीहरूको म्युजियम, चिडियाखाना, जातीय सङ्ग्राहलय फुडकोर्ट, स्वास्थ्य केन्द्र, बोटानिकल गार्डेन निर्माण हुनेछन् ।
तालतलैयाको अवस्था
तालतलैया इटहरी उपमहानगरपालिकाको वडा नम्बर २ र ३ पर्दछ । यसले ७६ दशमलव ७५ हेक्टर जमिन ओगटेको छ । यसमध्ये यहाँ २१ दशमलव ५ हेक्टरमा अहिले संरक्षण र प्रवद्र्धनको काम भइरहेको छ । प्राकृतिक रूपमा नै ताल, पोखरी, सिमसार, खोल्साखोल्सी, थुम्कैला डाँडापाखा, समतल घाँसेमैदान, विभिन्न प्रकारका रैथाने बोटबिरुवा, जडिबुटी, पशुपन्छी, जलचर, उभयचर रहेका छन् ।
फराकिलो र रमाइलो ठाउँ भएका कारण सिजनमा टाढाटाढाबाट वनभोज खान आउनेहरूको सङ्ख्या बढ्दो रहेको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले बताए । पूर्वकै पर्यटकीय गन्तव्य बन्दै गएको तालतलैयामा बोट बिरुवा, चिडिया घर, वन भोजस्थलले मनोरम स्थल रहेका छन् । साथै सो क्षेत्रमा पिङ, चर्खेपिङ, बालबालिकाका लागि खेल स्थान निर्माण गर्नुका साथै जङ्गली जनावरसमेत राखिएको छ । विभिन्न जनावर र तथा पन्छी पनि संरक्षण गरिएको तालतलैया संरक्षण तथा प्रवद्र्धन समितिका सञ्चार संयोजक लोचन पौडेलले बताए ।
उनका अनुसार केही दिनपछि सो स्थानमा निःशुल्क वाइफाइको व्यवसथ्था गरिनेछ । सिमसारक्षेत्र वरिपरि सुरक्षित तारजाली गरिएको छ । पर्यटकहरूलाई आराम गर्ने बेञ्चहरू, फिसिङ पोण्ड र शहीदहरूको आकर्षक मूर्ति स्तम्भ बनाइएको छ । विभिन्न प्रकारका कुँदिएका ढुङ्गाका मूर्ति पनि तालतलैयामा राखिएका छन् । कृति र प्रकृतिको सङ्मस्थलका रूपमा रहेको सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका २ र ३ को बीच भागमा रहेको चारकोशे जङ्गल क्षेत्रको मनोरम पर्यटकीय क्षेत्र तालतलैया प्राकृतिक ताल र बहुमूल्य जडीबुटी बुट्यान र वनभोजका लागि अत्यन्तै सुन्दर एवम् मनोरम स्थल हो ।