धरान/ कक्षामा शिक्षकले पढाइरहेको बेला कुनै छात्रालाई अचानक महिनावारी भए ‘लेडिज प्रब्लम’ भन्दै अब घर जानु नपर्ने भएको छ । न त ब्यागमा किताबसँगै सेनिटरी प्याड नै बोक्नु पर्छ । धरान–१२ चतरालाइनस्थित पब्लिक हाईस्कुलले कक्षा ८ देखि कक्षा १२ सम्मका छात्राहरूका लागि महिनावारी हुँदा सेनिटरी प्याड खसाल्ने ‘अटोमेटिक सेनिटरी नेप्किन भेण्डिङ मेसिन’ राखिदिएपछि निर्धक्क पढ्न पाउने भएका हुन् ।
विद्यालयमा राखिएको मेसिनबाट आवश्यक परेको बेला सिक्का हालेर प्याड निकाल्न सकिन्छ । छात्राहरूले आफूहरू महिनावारी हुँदा प्रयोग गरिने प्याडको व्यवस्था विद्यालयले निःशुल्करूपमा मेसिनमार्फत् उपलब्ध गराएकोमा दङ्ग परेको बताए । कक्षा १० मा अध्ययनरत भावना तामाङले भनिन्, ‘महिनावारी हुँदा आफूले बोकेको छ भने प्याड लगायो छैन भने साथीलाई माग्यो । त्यो पनि नभए घरतिर लाग्थ्यौं । अब चाहिँ त्यस्तो इमर्जेन्सी आइपरे विद्यालयले राखिदिएको मेसिनबाट निकाल्छौं ।’
विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले किशोरीहरूको विद्यालयीय शिक्षा र शारीरिक स्वास्थ्यसँग जोडिएको महिनावारी समस्यालाई समाधान गर्न प्याड खसाल्ने मेसिन राखिएको बताए । उनकाअनुसार विद्यालयमा महिनावारीको प्राकृतिक प्रक्रियामा गुज्रने सात सय बढी छात्राहरू रहेकाले उनीहरूको पठन–पाठन सहज बनाउँदै शारीरिक स्वस्थतामा ध्यान दिएर भारतको मुम्बइस्थित इण्डो मेडिकल हेल्थकेयरबाट ‘अटोमेटिक सेनिटरी नेप्किन भेण्डिङ मेसिन’ स्थापना गरिएको हो ।
उनकाअनुसार एकैपटक ५० वटा प्याड राख्न सकिने मेसिन भारु १० हजार ८ सयमा र ७५ वटा प्याड राख्न सकिने मेसिनको भारु ११ हजार ८ सय पर्छ । तर विभिन्न एजेण्टमार्फत् नेपालसम्म ती मेसिन ल्याउँदा ३० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म लाग्ने गरेको छ ।
उक्त मेसिन प्रदेश १ मा पहिलो पटक छात्राहरूका लागि धरानको पब्लिक हाईस्कुलमा राखिएको प्रअ झाले बताए । जसलाई आवश्यक पर्छ, उसले निर्धक्क सिक्का लगाएर निःशुल्क रूपमा प्याड प्रयोग गर्न सक्छ ।’ हाल सेनिटरी प्याड धरान उपमहानगरपालिकाको सामाजिक महाशाखामार्फत् उपलब्ध हुँदै आएको छ ।
विद्यालयका स्वास्थ्य र विज्ञान विषयका शिक्षक वीरेन्द्रबहादुर साह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले छात्राहरूको महिनावारी प्राकृतिक समस्या भएकाले उनीहरूको पठन–पाठनमा कुनै रोकावट नआओस् भनेर मेसिन राखिदिएको बताए । कार्कीले भने, ‘हामीले धरानमा नयाँ थालनी गरेका छौं । मेसिनले किशोरीहरूको समस्यामा सहज भएको छ ।’